कात्तिक १६, खोटाङ - प्रदेश नम्बर १ की पुर्वसामाजिक विकास मन्त्री एवं एमाले नेतृ उषाकला राईले घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान चलाइरहेको अवस्थामा खोटाङमा मदिरा नष्ट गरिएको छ।
‘व्यान्ड भर्सेस ब्राण्ड’की अभियान्ता उषाकलाकै जिल्लामा ईलाका प्रहरी कार्यालय हलेसीले हलेसीबजारका स्थानीय महिलाले उत्पादन गरेको घरेलु मदिरा तथा मदिरा तयार पार्न प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो।
सोमबार इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रमोद कार्कीको नेतृत्वको प्रहरीले ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ वरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि स्थानीय लगायतको रोहवरमा नष्ट गरिएको हो।
६ चैत २०७६ मा दिक्तेल बजारमा ९ हजार मूल्य बराबरको करिब ६० लिटर रक्सी जफत गरेर नष्ट गर्दा नेतृ राईले जनप्रतिनिधिको हैसियतमा पहिलोपल्ट सार्वजनिक रुपमा विरोध जनाएकी थिइन् ।
नेतृ राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’को चर्चा चलाउन सुरु गरेसँगै जिल्लामा मदिरा वरामद गर्ने र नष्ट गर्ने अभियानबाट प्रशासन र प्रहरी केही पछि हटेको थियो। त्यस यता जिल्लामा लोकल मदिरालाई कमै मात्रामा नष्ट गरिएको छ।
‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियानको थालनीसँगै स्थानीय स्तरमा पनि लोकल मदिराको औधोगीकरणका विषयमा खुलेर बहस हुन थालेको छ। १५ असार २०७७ मा प्रदेश संसदको विनियोजन विधेयकमाथिको छलफलकाक्रममा राईले लोकल रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिइन्।
लोकल रक्सीलाई व्याण्ड (प्रतिवन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने पुर्वमन्त्री राईले बताउँदै आएकी छन्। घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि उनकै पहलमा ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन तयार पारिसकिएको छ।
राईले लोकल रक्सीमाथिको व्याण्ड (प्रतिबन्ध) हटाएर ब्राण्ड बनाउनुपर्ने आवाज उठाएको केही समयपछि किरात राई यायोक्खाले १६ साउन २०७७ मा खोटाङका तत्कालिन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै लोकल रक्सीको प्रवद्र्धन र प्रोत्साहनका लागि कानूनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेको थियो।