कात्तिक १३, खोटाङ - खोटाङमा सुत्केरी व्याथा लागेको अवस्थामा अधिक रक्तश्रावको समस्याबाट सिकिस्त बनेकी महिलालाई हेलीकोप्टरबाट उद्धार गरेर अस्पताल लगिएको छ।
सुत्केरी व्याथा लागेसँगै अधिक रक्तश्रावको समस्या निम्तिएपछि ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी २९ वर्षीय मोनिका राईलाई शनिबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगतको हेलीकोप्टर सेवाबाट उद्धार गरिएको हो।
दुई दिनदेखि रक्तश्राव भएकी महिलालाई इमरजेन्सी वार्डमा भर्ना गरे लगत्तै अन्यत्र रेफर गरिएको हो।
उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाइ सेवाबाट खर्च बेहोर्ने गरि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाण्डौं पठाइएको जिल्ला अस्पतालका डा. नितु लामाले बताइन्।
सामान्यतः ४० हप्तामा सुत्केरी व्याथा लाग्नुपर्नेमा राईलाई ३३ हप्ता ५ दिनमै सुत्केरी व्याथा लागेको पाइएको जिल्ला अस्पतालले जनाएको छ। भिडियो एक्स–रे गरेर हेर्दा बच्चाको साल समेत तल रहेको पाइएको डा. लामाले बताइन् ।
भिडियो एक्स–रे गरेर हेरेपछि मात्र उनको अन्तिम महिनावारी भएको मितिका वारेमा जानकारी भएको थियो।
तेश्रो बच्चा जन्माउने क्रममा अधिक रक्तश्रावका कारण मोनिकाको जिल्ला अस्पतालमा उपचार हुन नसकेको र अवस्था गम्भीर भएको उल्लेख गर्दै स्वास्थ्य कार्यालयले पठाएको पत्र अनुशार निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबाट उद्धार गर्नेगरी हेलिकोप्टरको व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो।
विगतका समयमा जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टरबाट सुत्केरीको उद्धार गर्दा पनि जनप्रतिनिधि तथा नेताबिचमा आफुले पहल गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर राखेर ‘श्रेय लिने’ होड चल्ने गरेको थियो।