कात्तिक ७, खोटाङ - खोटाङमा एकै दिन १५ जनालाई बेवारिसे कुकुरले टोकेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलबजारमा शनिबार १५ जनालाई बेवारिसे कुकुरले टोकेको हो।
कुकुरको टोकाईबाट घाइते भएकामध्ये दुई जनालाई शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए।
अन्य १३ जना भने हप्ता दिनभित्र तीन डोजको एन्टीरेविज खोप लगाउनेगरी पहिलो खोप लगाएर फर्किएका छन्। कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुद्दै टोक्दै गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
रत्नपार्क क्षेत्रमा सबैभन्दा बढीलाई कुकुरले टोकेको छ। कुकुरले अस्पताल चोकमा समेत एक जनालाई टोकेको छ।
एकै दिन १५ जनालाई कुकुरले टोकेपछि साविकको सदरमुकाम दिक्तेलबजारमा कुकुर आतंक फैलिएको छ। गाउँ–गाउँमा समेत कुकुरको आतंक फैलिरहेको छ।