खोटाङमा तीन दिन देखि बिजुली बत्ती र टेलिफोन सेवा अबरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले दशैको लागि भन्दै बुधबार बिहानबाट रसुवाघाट देखि दिक्तेल रुटमा रहेका विद्युतका पोल तथा तारमा छोएका रुख बिरुवा हटाउन (बुष्ट कट) सुरु गरेको थियो ।
बुष्ट कटको नाममा प्राधिकरणले हाल सम्म विद्युत अबरुद्ध गराएको छ ।
यस्तै प्राधिकरणले अर्को लापरबाही पनि गरेको छ। नेपाल दुरसंचारको कार्यालय दिक्तेलबजारमा रहेको टावरमा आएको फाइवरको तार बाम्राङ र बुइपाको बिचमा काटिदिए पछि टेलिफोन सेवा अबरुद्ध भएको छ ।
प्राधिकरणको टोलीले रुख बिरुवा हटाउने बहानामा टेलीकमको फाइवरको तार काटिदिएको पाइएको हो। तार काटिदिए पछि प्राबिधिक झिकाएर बनाउनेक्रम जारी रहेको दुरसंचार कार्यालयले जनाएको छ।
बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म बुष्ट कटिङ गर्ने भनेको प्राधिकरणले पुरै समय विद्युत अवरुद्ध गराउँदा जिल्ला अन्धकार बनेको छ। चाडपर्वको बेला विद्युत अबरुद्ध हुँदा र इन्टरनेटको साथै सबै प्रकारका टेलिफोन सेवासमेत नचल्दा सेवाग्राहीलाई सास्ती भएको छ ।
सरकारी तथा गैरसरकारी संघसस्था, बैंक तथा बितिय संस्थाको काम समेत प्रभावित बनेको छ।
खासगरी दशैंकाे लागि बैंकमा भिडभाड हुने गरेको छ। विद्युत, इन्टरनेट र टेलिफोन नहुँदा सकस भएको छ।
स्थानीय प्रशासनले विद्युत र टेलिफोन संचालन तत्काल गराउन चासो नदिएको पाइएको छ।