खोटाङ, भदौ १९ - खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानीस्थित हुम्मापोखरीमा रहेको नेपाल टेलीकमको टावर घाम लाग्दा मात्र संचालन हुने गरेको पाइएको छ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सो टावर घाम लाग्दा संचालमा रहने तर घाम नलागेको खण्डमा टावरले काम नगरेको पाइएको हो। टावरले काम नगरेको लामो समय भइसक्दा पनि नेपाल दुरसंचारको कार्यालय खोटाङले चासो नदिँदा उपभोक्तालाई सकस भएको छ।
वर्षा लागेसगैं खरावी आएको टावरको हालसम्म समस्या सावधान नहुँदा त्यस क्षेत्रका सर्वसाधारण महिनौंदेखी सम्पर्क विहीन भएर बस्नु पर्ने बाध्यतामा छन्।
‘कसैसँग सम्पर्कमा रहन पाइएन, आफन्तसँग पनि बोल्न पाइएन, फोनमा नेटवर्क नआउने भएका कारण कहाँ के भयो, के हुँदैछ ? कुनै कुरा हेर्न, सुन्न, र आवश्यक सम्पर्कमा रहन पाइएन, अन्धकारमा बस्नुपर्ने बाध्यता छ ।’ उपभोक्ताको गुनासो छ।
नेपाल टेलीकमले टूजि नेटवर्क रहेको सो टावरलाई गत चैत्रमा फोरजि नेटवर्क बनाएको थियो। फोरजि नेटवर्क संचालनमा आएपछि घरमै बसेर इन्टरनेट चलाउन पाउँदा झनै खुशी भएका उपभोक्ताहरुको खुशी टेलीकमको वेवास्थाका कारण एक महिना पनि टिक्न पाएन।
टेलीफोनमा टावर नआउने समस्या विगत लामो समयदेखी हल नभएपनि उपभोक्ताहरु डाँडामा गएर सम्पर्कमा रहनु पर्ने बाध्यतामा छन्। खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा रहेको टेलीकमको रिपिटर टावरले भेट्ने ठाउँमा धाएर आफन्तसँग वा कामका कुरा गर्न उपभोक्ताहरुले दुख गर्नुपरेको बताइन्छ।
टावरमा पावर जान ट्रान्फरर्मरमा समस्या आएकोले नेटवर्क संचालनमा नआएको हो, सोलार घाम नलागेका कारण चार्ज नभएको र घाम लाग्दा टावर आउने नलाग्दा टावर जाने समस्या रहेको टेलीकमले बताएको छ। टावरमा कुनै पनि समस्या आएको छैन तर, सो टावरमा जाने विद्युतको टा«न्सफरमरमा समस्या भएको नेपाल टेलीकमको कार्यालयले जनाएको छ।
टेलीकमका अनुसार, ‘टा«न्सफरमर विराटनगरबाट ल्याउने तयारी गरिएको भएपनि वर्षाका कारण सडकको अवरुद्धताले ल्याउन सकिएको छैन, बैकल्पिक माध्यमबाट तत्कालै टेलीफोन संचालनमा ल्याउछौं।’
अब पनि टा«न्सफरमर तत्काल आउने स्थिति नभए नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दिक्तेलसँग सहकार्य गरेर चिसापानी बजारको टा«न्सफरमरबाट तार टाँगेर भएपनि टावर संचालनमा ल्याउने टेलीकमको कार्यालय ओखलढुंगाले बताएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दिक्तेलले पनि टावर संचालनका लागि विद्युत प्रवाहको काम तत्काल गर्ने प्रतिवद्धता गरेको छ।
टेलीफोनको टावर संचालनमा नरहँदा जिल्लाका जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहापोखरी गाउँपालिकार र भोजपुर जिल्लाका केही क्षेत्रका उपभोक्ताहरुलाई सकस भएको छ। अनालाइन कक्षा लिइरहेका विद्यार्थीका लागि त झनै समस्या भएको छ।