भदौ १, खोटाङ- पछिल्लो समय खोटाङको सदरमुकाम दिक्तेलमा घरैपिछे जस्तो कोरोना संक्रमित भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १० दिनका लागि नगरपालिका सिल गरेको छ।
दैनिक जसो गरिएको कोभिड-१९ को परीक्षणका क्रममा संक्रमणदर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई आजबाट भदौ १० गतेसम्म सिल गरिएको हो।
नगरपालिका भित्र कोभिड-१९ को संक्रमण दर बढ्न सक्ने सम्भावना देखिएको र उच्च सतर्कता अपनाउनु पर्ने भन्दै साउन २७ गतेको बैठकको निर्णय अनुसार नगरपालिकालाई १० दिन सिल गरिएकोे मेयर दिपनारायण रिजालले विज्ञाप्तीमार्फत जानकारी दिएका छन्।
आठ बुँदे विज्ञाप्तीमा पसल, इन्धन, तरकारी पसल र अन्य अत्यवश्यक कामका लागि सञ्चालन गर्नुपर्ने बाहेकका होटल, व्यापार व्यवसाय तथा यातायातका साधन पूर्णरुपमा बन्द गर्ने भनिएको छ।
यस्तै, नगरभित्रका सरकारी, गैर–सरकारी, संस्थान, बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयको सेवा, हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पूजा लगायत अन्य भिडभाड हुने क्षेत्र बन्द गरिने नगरपालिकाले जनाएको छ।
नगरले अत्यावश्यक सेवाका लागि बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाई उच्च स्वास्थ्य सतर्कता अपनाएर मात्र निस्कन भनेको छ।