• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आज नागपञ्चमी पर्व, यस्तो छ विश्वास र पूजा विधि

आज नागपञ्चमी पर्व, यस्तो छ विश्वास र पूजा विधि

images

प्रभाव न्यूज

२९ श्रावण २०७८
  • 12.7K
    SHARES
  • images
    आज नागपञ्चमी पर्व, यस्तो छ विश्वास र पूजा विधि
    images
    images
    images

    साउन २९, काठमाडौं -  आज नाग पञ्चमी पर्व। आज सबै हिन्दु नेपालीले आफ्नो घरको मूलढोकामा नागको तस्विर टाँसेर पूजा अर्चनासहित मनाइँदैछ।

    images

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

    सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

    नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो।

    images

    वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

    images

    प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो।

    नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो। प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ।

    भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ। दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ।

    श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ। भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ।

    पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ। लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ। नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन्। जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ।

    एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए। ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइन्। रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन्।

    संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन्। नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन्। किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन्।

    मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन्। किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन्।

    प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन्। यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमीअर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ।

    images
    images

    प्रकाशित :श्रावण २९, २०७८ शुक्रवार - ०९:१८:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij