साउन २८, काठमाडौं - मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ।
वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण बाढी, पहिरो, भुक्षय हुन सक्ने भएकाले सुरक्षित रहन विभागले चेतावनी दिएको छ।