साउन २६, खोटाङ - रिचार्ज पोखरीमा डुबेर खोटाङमा एकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित पुरानो रिचार्ज पोखरीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका अन्दाजी ४५ वर्षीय साबु राईको मृत्यु भएको हो । पौडी खेल्नका लागि केटाकेटीको समुह बासुको घरबाट ४ वटा जम्बो ड्यूको बोत्तल लिएर पोखरीमा गएको र त्यही बोत्तल लिन जाँदा साबुको मंगलबार दिउँसो डुबेर मृत्यु भएको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए । बिना जानकारी ड्यूको बोत्तल लिएर केटाकेटी पोखरीमा गएपछि साबु श्रीमती इवासरीसँग केटाकेटीलाई गाली गर्दै पोखरीमा पुगेका थिए । पोखरीमा तैरिरहेको बोत्तल निकाल्न पोखरीमा पसेको अवस्थामा चिप्लिएर लड्न पुग्दा उनको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । पोखरीमा डुबेका साबु शारीरिक अपांगता भएका कारण बाहिर निस्कन नसकेको स्थानीयको अनुमान छ । ईलाका प्रहरी कार्यालय हलेसीले घट्नास्थल मुचुल्का तयार पारेपछि शव पोष्मार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको वडाध्यक्ष राईले बताए । एउटा खुट्टा कमजोर भएका साबु विगत ९ वर्षदेखि हलेसीमा झुपडी बनाएर परिवार सहित बसिरहेका थिए । हाल सोही पोखरी नजिकै बसिरहेका उनी मागेर र मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका थिए । उनका २ छोरा २ छोरी छन् ।