साउन १९, खोटाङ - बैदेसिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका-५ चिप्रिङका रनबहादुर बिष्टको मृत्यु भएको छ।
बसिरहेकै ठाउँमा अचानक बेहोस बन्न पुगेका बिष्टको मलेसियाको काजाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
शुक्रबार बेलुका बस्दैआएको ठाउँमा अकस्मात बिरामी परेपछि बिष्टलाई अन्य नेपालीको सहयोगमा अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको मलायाखबर डटकमले जनाएको छ।
विगत १८ वर्ष अघिदेखि मलेसिया बस्दैआएका बिष्टको शव अस्पतालमै राखिएको छ। बिष्टको मृत्युको कारण खुल्न बाँकी छ। यद्यपी, उनी सुगर र प्रेसरको समस्याबाट पिडित रहेको बताइएको छ। विष्टको मृत्युको बारेमा सामाजिक सञ्जालबाट जानकारी पाएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए।
१२ वर्षसम्म उनलाई पर्खेर बसेकी श्रीमतीले घरकै सल्लाहमा दोश्रो विवाह गरिसकेका छन्। ‘मैले पनि सामाजिक सञ्जालबाट थाहा पाएको हो।
गाउँमा बुझ्दा घट्ना यतार्थ रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘लामो समयसम्म घर नआएकाले घरपरिवारकै सल्लाहमा श्रीमतीले समेत दोश्रो विवाह गरिसकेको खबर आएको छ।’
पछिल्लो समय अवैध बनेका उनी गत जुलाई १ तारिखदेखि मलेसियाको सेलाङ्गर तामिनजयामा एक होटलमा काम गर्दैआएका थिए।
मलेसियास्थित नेपाली दूतावाससँग समन्वयमा शव नेपाल पठाउनका लागि नेपाली जनसम्पर्क समिति मलेसियाले पहल गरिरहेको जनाइएको छ।