साउन १७, काठमाडौं - वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा कटौति हुँदै आएको विषयमा छलफल गर्ने क्रममा आज तनाव सिर्जना भएको छ।
कोभिड भत्ता, सेवा विस्तार भत्ता, औषधी खरिद खर्च, रेडियोलोजी तथा प्याथलोजी हाजार्ड भत्ता कटौती हुँदै आएको बिषयलाई लिएर आज प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमसँग बैठक बस्ने क्रममा तनावको अवस्था सिर्जना भएको बताइएको छ।
गौतमले म तपाईंहरुका माग पुरा गर्न सक्दिन, जे गर्न सक्नुहुन्छ गर्नुहोस् भन्ने जस्तो गैरजिम्मेवार प्रतिकृया दिएको र जनसेवाका प्रहरी लगाएर बैठक कक्षको ढोका तोडफोड गरी अस्पतालमा कार्यरत नर्सलाई घाइते बनाएको आरोप छ।
नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुवराज आचार्यद्वारा जारी विज्ञप्तिमा आफ्नै कर्मचारीलाई कुट्ने, कुटाउने गौतम वीर अस्पतालबाट फिर्ता नभएसम्म तथा हातपातमा संलग्न प्रहरीले माफी नमाग्दासम्म कडा आन्दोलनमा उत्रने बताइएको छ। -जन आस्था