साउन १६, काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको प्रगति विवरण सुनाउँदा नेपालमा तुइनलाई विस्थापित गरेको फेहरिस्त सुनाउन कहिल्यै छुटाउँदैन थिए।
तर, शुक्रबार ओलीको शब्दमा ‘तुइनमुक्त’ भएको नेपालकै दार्चुलामा तुइनबाट नदीमा खसेर एक नेपाली युवक बेपत्ता भएका छन्।
शुक्रबार बिहान साढे ८ बजे दार्चुला जिल्लाको व्यास गाउँपालिका २ माल भन्ने स्थानबाट भारत उत्तराखण्ड जिल्लाको पिथौरागढमा पर्ने पांगल भन्ने स्थानमा जाने क्रममा व्यास गाउँपालिका २ माल बस्ने ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन्।
दार्चुला जिल्ला र भारतको पिथौरागढलाई महाकाली नदीले छुट्टाएको छ। त्यही महाकाली नदी पार गर्नका लागि मानिसहरूले अस्थायी प्रकृतिका तुइनहरू बनाउने गरेका छन्।
बेपत्ता भएका जयसिंह धामीको खोजी कार्य जारी छ। भारतको एसएसबीले पनि खोजी गर्दैछ।
नेपालको प्रहरी र सशस्त्र प्रहरी बल दुबैले खोलामा खोजी गरिरहेका छन्। तर, अहिलेसम्म बेपत्ता युवक फेला पर्न सकेका छैनन्।