साउन १५, काठमाडौं - कागती यो मानव स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ।
भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार हो कागती।
चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर जसरी पनि कागती आने गरिन्छ।
सरीरको वजन कम गर्ने वा सरीरबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोग गर्ने हुनाले कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ।
कतिपयले अलिक बढि नै कागती पानी पिउने गरेको पाइन्छ र जति धेरै खायो उति नै फाइदा हुन्छ भन्ने मानसिकता रहेको पनि पाइन्छ। तर धेरै खाएमा गुड पनि तितो हुन्छ भन्ने उखान झैँ कागती पानीको अत्यधिक सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन।
धेरै कागतीपानी खानुका बेफाइदा यस्ता छन् :
# कागतीमा साइट्रिक एसिड पाइन्छ। धेरै कागतीपानीको सेवनले यो अम्लले दाँतसँग रासायनिक प्रतिक्रिया गरी दाँतलाई कमजोर बनाउने वा खियाउने गर्दछ। त्यसैले कागतीपानी पिउँदा बढि तातो बनाएर नपिउने र मुखमा धेरैबेर नराख्ने अर्थात् सर्लक्कै निल्ने गर्नुपर्छ।
# यदि तपाइँमा एसिडिटीको समस्या छ भने कागतीको सेवन एकदमै कम गर्नुहोस्। यसले छाति तथा पेट पोल्ने तथा एसिडिटी बढाउने समस्या पैदा गरिदिन्छ।
# कतिपय मानिसहरु खाना खाइसकेपछि खानेकुरा पचाउने भन्दै कागतीको सेवन गर्दछन्। तर भरिएको पेटमा कागती खानाले असर गर्नसक्छ र यसले पाचन क्रियामा गडबडी उत्पन्न गराउन सक्छ। त्यसबाट अपच, झाडापखला जस्ता समस्या हुनसक्छन्। त्यसैले खाइ खाइसकेपछि होइन की खानासँगै कागती खानुपर्छ ।
# कागतीमा अम्ल हुनुका साथै अक्जालेट तत्व पनि हुन्छ। यसको अत्यधिक सेवनले सरीरमा क्रिस्टल बन्न सक्छ । जुन स्क्रिटल अक्जालेटका कारण मृगौला तथा पित्तथैलीमा पत्थरी पर्नसक्छ।
# कागतीपानी पिउँदा पटक पटक पिसाब लाग्दछ । यसका कारण सरीरमा डिहाइड्रेसन अर्थात् जलवियोजनको खतरा पनि हुनसक्छ। त्यसैले कागती पानी सँगै सामान्य पानी पनि पर्याप्त पिउनुपर्छ। यदि दिनमा अरु पानी पर्याप्त पिउन नपाउने अवस्था छ भने कागती पानी नपिउनु राम्रो हुन्छ।