साउन १०, काठमाडौं - तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्मला पन्त घटनाका दोषीलाई कारवाही गर्न आनकानी गरेको यथार्तलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले उक्त घटनाको दोषीलाई कानुनी कठघरमा ल्याउने गरि गृहकार्य सुरु गरेको छ।
आइतबार देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बालुवाटार बोलाएर निर्मला पन्त हत्याकाण्ड प्रकरणका दोषी चाँडो लगाएर कारबाही गर्न निर्देशन दिएका छन्।
निर्मला हत्या प्रकरणको आज तीन वर्ष पूरा भएको छ। प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी पनि लिएका छन्।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु।
चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’
२०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो।
घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो। पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो।
तर, घटना भएको तीन वर्ष पूरा हुँदा पनि यस अपराधमा संलग्न अपराधी भने पत्ता लाग्न सकेको छैन।
तीन वर्षको अवधिमा नेपाल प्रहरीले धेरै जनशक्ति र धनराशीको खर्च पनि गरेको छ। तर, पनि यो अपराधको गुत्थी केलाउन प्रहरी असफल नै भएको छ।