साउन १०, खोटाङ - प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरो महाराजगंज काठमाडौंमा कार्यरत डिएसपी उमेश लम्साल गत असार १४ गते खोटाङ जिल्लामा आएपछि सार्वजनिक बिदाको दिन बिना पास सरकारी सवारी साधन चलाउने विरुद्ध ‘एक्सन’ मा उत्रिएका छन्।
असार २१ गते जिल्लाका क्रियाशिल पत्रकारहरुसँग समस्या तथा गतिविधिका विषयमा कुरा गर्दा पत्रकारहरुले सार्वजनिक विदामा सरकारी सवारी साधनको दुरुपयोग अत्याधिक बढेको जानकारी गराएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने विरुद्ध उनी ‘एक्सन’ मा उत्रिएका हुन्।
साउन ३ गते शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयको स्वास्थ्य शाखाको को २ ब ९९७ नम्बरको मोटरसाइकल, लोकसेवा आयोग शाखा कार्यालयको प्र.३-२-१ ब १५३० नम्बरको मोटरसाइकल, शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको बा.२ ब.७९७० नम्बरको मोटरसाइकल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-२ को वडा कार्यालयको बा २ ब ८१९३ नम्बरको मोटरसाइकल सार्वजनिक विदाका दिन जथाभावी रुपमा बिना पास चलाएको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।
यस्तै, साउन साउन ९ गते सार्वजनिक विदाका दिन बिना पास चलाइएका धनपाल गाउँपालिकाको कार्यालय मोरङको को १ झ ५४१ नम्बरको स्कार्पियो, महाकुलुङ गाउँपालिकाको कार्यालय सोलुखुम्बुको प्रदेश नम्बर १-००२-००१ ब ३१०९ नम्बरको मोटरसाईकल र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालयकोे प्रदेश नम्बर १-००५-००१ ब ११०१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो।
सार्वजनिक बिदाका दिन सवारीसाधनको ब्यापक दुरुपयोग बढेको गुनासोको आधारमा कडाई गरिएको उनले जनाए। बिना पास सार्वजनिक बिदाका बेला सरकारी सवारी साधन चलाएको पाइए सवारी साधन नियन्त्रणमा लिइ कारवाही गरिने उनको भनाई छ।
जिल्लाका सवै प्रहरी विटलाई सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनमा कडाई गर्न निर्देशन दिइएको पनि उनले बताए।
सार्वजनिक विदाका दिन सरकारी सवारी साधन चलाउनेहरुको अहिले भागरेभाग भएको बताइएको छ।
प्रहरीले सरकारी सवारी साधन सार्वजनिक विदाका दिन बिना पास चलाइएको पाइए नियन्त्रणमा लिने भनेपछि अहिले प्रहरीको आँखा छलेर कतिपयले चलाएको भएपनि सार्वजनिक विदाका दिन कतिपयको भागरेभाग हुने गरेको छ।
स्थानीय तह आएसँगै वडा, पालिकाहरुमा समेत सवारी साधन खरिद गरिएको छ। सरकारी सवारी साधन पछिल्लो समय आफ्ना नातागोता बोक्नदेखी घाँस दाउरा बोक्नसमेत प्रयोग हुँदै आएको छ। कतिपय त सरकारी सवारी साधनको दुरुपयोग गर्दै घुम्न जानेदेखी ‘डेटिङ’ समेत जाने गरेको पाइएको छ।