साउन ८, खोटाङ - खोटाङको त्रि-धार्मिकस्थल हलेसीमा बोलबम मेला नलाग्ने भएको छ। कोभिड-१९ को जोखिमका कारण गत बैशाखदेखी बन्द अवस्थामा रहेको हलेसी महादेवस्थलमा बोलबम मेला नलाग्ने भएको हो।
पवित्र धार्मिक स्थल हलेसीमा विगत वर्षहरुमा साउन महिनाभरी व्यापकरुपमा बोलबम मेला लाग्ने गरेको थियो। गत वर्षको साउनमा पनि बोलबम मेला नलागेको हलेसीमा यस वर्ष पनि बोलबम मेला पूर्णरुपमा नलाग्ने भएको हो।
कोरोनाको दोस्रो भेरियण्ट नै सिथिलतातर्फ नगइरहेको अवस्थामा फेरी तेस्रो भेरियण्ट आइसकेकोले हलेसीमा पुजारीले गर्ने नियमित पुजा बाहेक अन्य सबै पुजाआजा बन्द गरिएको छ, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।
उनले भने, ‘पुण्य भुमि हलेसीमा यो साउन महिनाभरी लाग्ने बोलबम मेला पूर्णरुपमा बन्द गरेका छौं।’
प्रदेश नम्बर-१ को खोटाङ जिल्लामा पर्ने हलेसीमा बोलबमको अवसरमा मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, गान्तोक, चीन, तिव्वत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु आउने गरेका थिए।
हलेसी महादेवको दर्शन गर्नाले के पाईन्छ ?
साउन महिना महादेवको महिना हो। यस कारण हलेसी महादेवको दर्शन गर्नाले चिताएको कुरा पुराहुने धार्मिक जनविश्वासका आधारमा धेरै भक्तजनहरुको ओईरो लाग्छ।
धार्मिक मान्यता अनुसार विलक्षण सुन्दरी महादेवकी पत्नी पार्वती देखि विछट्टै आकर्षित भई पार्वती प्राप्त गर्न तथा आफू वलवान बन्ने आशिर्वाद माग्न ज्यादै कष्टपूर्ण तवरले राक्षस वकासुरले १२ हजार वर्ष सम्म तपस्या गर्यो।
त्यसैबाट प्रभावित भइ महादेवबाट वकासुरले आशिर्वाद प्राप्त गर्यो र महादेवकै सिरमा हात राखि महादेवलाई भष्म गर्न खोजेपछि राक्षस बकासुरबाट बच्न महादेव भाग्दै गएर हलेसीमा लुक्न पुगे सोही समयमा महादेवका मित्र विष्णुले मोहनी सुन्दरीको रुप धारण गरी वकासुरलाई भष्म पारिदिए।
तत् पश्चात हलेसी महादेवस्थानमा भगवान शिव विरजमान भएको किंवदन्ती रही आएको छ। हलेसी धार्मीक आस्थाको आधारमा हिन्दु, वौद्ध र किरात तिनै धर्मको आस्थाको केन्द्र रहेको छ। हलेसी महादेवस्थानमा रहेका गुफा तथा वौद्ध स्तुपहरु पर्यटकीय धरोहरको रुपमा रहेका छन्।
यहाँ रामनवमी मेला १५ दिन, मंसिरमा वालाचतुर्दशी मेला १२ दिन, फाल्गुणमा शिवरात्री मेला ७ दिन साउनमा बोलबम मेला एक महिना र भदौमा तीज मेला एक दिन लाग्ने गर्दछ।
हलेसीमा रहेका पापद्धार, धर्मद्धार, स्वर्गद्धार, जन्मद्धार र घोप्टेद्धार छिर्दा १८ वटा नरक बाट मुक्ति पाईने धार्मिक मान्यता छ।
सन्तान नभएकाहरुलाई पुत्रलाभ हुनका साथै शरिरमा भएका रोगव्याधी निको हुने र मनोकांक्षा पुरा हुने धार्मिक मान्यता अनुसार दर्शनार्थी तिर्थालु भक्तजनहरुको भिड गर्दछ। मुलुकमा संघीयतासँगै स्थानीय सरकार आएपछि त्यहाँको हलेसी तुवाचुङ नगरपालिकाले हलेसीलाई पूर्ण व्यवस्थित बनाएको छ।
तपाईंले यो सन्देश पढीसक्नु भयो? यदि पढीसक्नु भयो भने सबैलाई जानकारी दिन एक शेयर पनि गर्नुहोस :