साउन ३, खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९ लाई सेवा प्रवाह सुधार वर्षको रुपमा काम गर्ने भएको छ।
‘समृद्ध नगरः सेवा प्रवाहमा गुणस्तर, समृद्ध नगरः निर्माणमा गुणस्तर, मेरो प्रतिज्ञाः मेरो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ नगरपालिकाले ०७८/०७९ लाई सेवा प्रवाह सुधार वर्षको रुपमा काम गर्ने भएको हो।
समृद्ध नगर निर्माणका लागि सेवा प्रवाहमा आधारित भएर नगरपालिकाले काम गर्न लागेको नगर प्रमुख दिपनारायण रिजालले जानकारी दिए।
शनिबार ‘शुसासनका लागि मिट द प्रेस’ कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै रिजालले यो अन्तिम वर्ष नगरपालिकाले प्रवाह गरेका विभिन्न सेवा सुविधा चुस्तदुरुस्त छन् वा छैनन् खोजीनीति गरि अधुरा–अपुरा कामहरूलाई सम्पन्न गर्न जोड दिइने योजना बनाएका छौं।
चार वर्षसम्म नगरपालिकालाई व्यवस्थित तथा समृद्ध बनाउन योजना आयोजना तथा विभिन्न जनमैत्री कार्यक्रम सञ्चालन गरिएको र यो वर्ष पनि ति कार्यक्रमलाई निरन्तरता दिंदै आगाडिका सबै कार्यहरुलाई नियमित अनुगमन तथा निरीक्षण गरि प्रभावकारी र पारदर्शी बनाउन सेवा प्रवाहमा आधारित भएर काम गर्न लागिएको रिजालको भनाई छ।
अघिल्ला वर्षहरुमा हामीले सडक, सिंचाई, खानेपानी, भवन निर्माण, स्वास्थ्य, शिक्षा, रोजगार, कृषिलगायतका विकास निर्माण तथा जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका अनेकौं सेवा प्रवाह निरन्तर गर्यौं, अब यस वर्ष हामी अपुरा योजना आयोजना पुरा गर्छौ र सम्पन्न भएका कामको अनुगमन र मर्मत संभार गर्ने काम गर्छौँ रिजालले भने।
यस्तै, नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ (एक वर्ष) को अवधिमा कृषि, शिक्षा, युवा तथा खेलकुद, कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण, कोरोना न्यूनिकरण, रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण प्रयासहरू, लोप हुन लागेको नौमती बाजालाई संरक्षण तथा प्रबर्द्धन, मझुवागढीमा चिण्डो (वाबु) को प्रतिमा स्थापना, बाँझो जमिनमा खेतिको लागि अनुदान कार्यक्रम अन्तर्गत वडा नं १, ६, ११, १२, र १४ का जम्मा १० जना कृषकहरुलाई विगत ३ वर्ष देखि बाझो रहेको जमिन उपयोग गर्न अनुदान उपलव्ध, प्रांगारिक मलको उत्पादन सुरु गरी वितरण, महिला तथा पिछडिएका वर्गका लागि च्याउ उत्पादन प्रविधि एवं वीउ सहयोग, नगर भित्रका सामुदायिक विद्यालयका कक्षा १ देखी ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजा तथा टिफिन वट्टा वितरण कार्यक्रम गरेको छ।
माटिकोरे खेलमैदानको निर्माण कार्य गत बर्षबाट सुरुवात गरिएको यस आर्थिक वर्षमा उक्त खेलमैदानलाई रङ्गशालाको रुपमा निर्माण गर्ने योजना रहेको नगरले बताएको छ।
सम्पूर्ण जिल्लालाई नै समेट्ने गरी नगरपालिकामा अवस्थित जिल्ला आयुर्वेद कार्यालयको नव निर्मित भवनमा अक्सिजन लगायतका अत्यावश्यक सुविधाहरू सहितको एक अस्थाई कोभिड अस्पताल (आईसोलेसन सेन्टर) स्थापना, नगर प्रमुख र उप प्रमुखले प्रयोग गरिरहेको गाडीहरू लगायत अन्य एम्बुलेन्स र गाडीहरूलाई संक्रमितहरूको निःशुल्क सेवामा प्रयोग गर्ने व्यवस्था, ब्लड बैंकबाट ब्लड भण्डारण गर्ने कार्यको सुरुवात, नगरका ११ वटा वडाहरूका प्रशासकीय भवन निर्माण सम्पन्न गरिएको र अन्य वडा भवन निर्माण कार्य जारी रहेको नगरपालिकाले जनाएको छ।
यस्तै, काठेपुल मुक्त नगर बनाउने लक्ष्य रहेको नगरले बताएको छ। रत्नपार्क सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क र सरस्वती मा.वि.को विद्यालय भवनको बहुबर्षिय ठेक्का अन्तर्गत यसै आव देखी निर्माण सुरु, नगरका सम्पूर्ण वडामा काठेपोल विस्थापित गरी फलामे पोलको व्यवस्था गर्ने कार्य अगाडि बढाइएको बताइएको छ।
कृषि पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत स्थानीय सम्भाव्यता एवं राष्ट्रिय महत्वका आधारमा एक वडा एक पकेट कार्यक्रम संचालन गरी कृषकहरुलाई व्यवसायिक कृषि तर्फ उन्मुख गर्नुका साथै उनिहरुको आर्थिक स्थिति सबल बनाउने काम गरिएको छ ।
महिला तथा पिछडिएका वर्गका लागि च्याउ उत्पादन प्रविधि एवं वीउ सहयोग कार्यक्रम संचालन गरी करिब ७० जनालाई लाभान्वित भएका छन्। माटो परिक्षणका लागि सबै वडाहरूलाई माटो जांच गर्ने उपकरणहरू हस्तान्तरण गरिएको जनाइएको छ।
बगरेभञ्ज्याङमा पार्क निर्माण संग सम्बन्धित विभिन्न कार्यहरू अन्तीम चरणमा रहेको । नयाँ ट्र्याक ओपन गर्ने कार्यलाई निरुत्साहित गरी सडक स्तरोन्नतीको कार्यलाई प्राथमिकतामा राखिएको । यस कार्यलाई यस आ.व.मा पन्ध्र वटै वडाहरूमा वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरूमा बाह्रै महिना सडक संचालन हुने गरी मूल सडक देखी एक–एक वटा सडक स्तरोन्नती कार्यक्रम संचालन कार्यलाई अगाडि बढाइएको। नगरको प्रत्यक्ष समन्वय र सहकार्यमा दिक्तेल बजार शहरी खानेपानी आयोजना अन्तिम चरणमा रहेको जनाइएको छ।
सबै वडाहरूको सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरणको सुरुवात गरिएको नगरक्षेत्र भित्रका १५ वटा आमा समूहलाई एक–एक थान कुटानी–पिसानी मिल हस्तान्तरण, नगरभित्रका केही गर्छु भन्ने फरक क्षमता भएका पाँच जना व्यक्तिहरूलाई बिउ पुंजीको रुपमा नगद हालसम्म करीव छ० वटा स्थानीय नगर ऐन, नियम, कार्यविधी, निर्देशिकाहरू निर्माण गरी लागू गरिएका छन् । ऐन संग्रह भाग १ प्रकाशन गरिएको ।
न्यायिक समितिबाट यस आवमा जम्मा १७ वटा उजुरी परेकामा १० वटा फर्छ्यौट भईसकेको र वांकी ७ वटा उजुरीहरू कोभिडका कारण फर्छ्यौट हुन बांकी रहेको नगरको भनाई छ। केही वडाहरूमा अनलाईन राजस्व सफ्टवेयर जडान गरी सेवा प्रवाह गर्ने कार्यको सुरुवात लगायतका यी महत्वपूर्ण बाहेक अन्य धेरै काम भएको नगरपालिकाले जानकारी दिएको छ।