असार २७, खोटाङ - खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा भत्काएको छ ।
बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरालाई शनिबार जेसिभि लगाएर भत्काएको हो।
शंखेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउनका लागि तीन पल्ट दिइएको समयलाई स्थानीयले बेवास्ता गरेपछि २०७७ साल मंसिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुशार गाउँपालिकाले १० दिनको अवघि दिएर मंसिर २१ गते २७ व्यक्तीको नामावली सहित अन्तिम पटक सूचना जारी गरेको थियो।
कतिपयले सो अन्तिम सूचनालाई पनि बेवास्ता गरेर बसेपछि शसस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिमा घर–टहरा भत्काइएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए।
नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसिरहेका भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भिमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुयाल, तिलकबहादुर मगर, गंगा बिक, डिल्ली गिरी, महेन्द्र बिष्ट, केदार राई, तिर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, धुर्व गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्रीको नाममा गाउँपालिकाले घर–टहरा हटाउन सूचना जारी गरेको थियो।
त्यसमध्ये कतिपय स्थानीयले आफै घर भत्काएका थिए। कतिपयले एक तला तथा कतिपयले छाना भत्काइसेका थिए। तर, हालसम्म अटेर गरेर बसिरहेका तीन वटा सग्लो घरलाई भने जेसिभि हालेर भत्काउनु परेको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिए।
गाउँपालिकाको सूचनालाई बेवास्ता गर्दै आफै घर–टहरा नभत्काउने स्थानीयको घरमा जेसिभि चलाउँदा भरभित्र राखिएका सामान नै पुरिएको छ। मापदण्ड विपरितका घर तथा टहरा हटाएर सार्वजनिक सम्पत्तीको रक्षा गर्दै पालिकालाई सुन्दर र व्यवस्थित बनाउने एउटा अभियान सफल भएको गाउँपालिका अध्यक्ष बञ्जराले बताए।