असार २५, खोटाङ - जनप्रतिनिधि चड्ने गाडी किन्ने बजेटले खोटाङको बराहपोखरी गाउँपालिकाले एम्बुलेन्स किनेको छ।
जिल्लाका अन्य स्थानीय तहले कार्यालय प्रयोजनका लागि गाडी किन्दा मोटरसाइकलले कामकाज गरिरहेको यस गाउँपालिकाले भने पालिकाबासीको स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिंदै एम्बुलेन्स किनेको हो।
आर्थिक वर्ष २०७७-०७८ को गाउँसभाबाट एम्बुलेन्स किन्ने योजना पास गरेको केही महिना पछि ११ लाख ९५ हजार लागतमा गाउँपालिकामा शुक्रबार एम्बुलेन्स आइपुगेको छ। जनताको जीवनस्तर हेरी जनस्वास्थ्यको संवेदनशिलतालाई ध्यान दिंदै भाडाको सवारी साधन प्रयोग गर्दा परेको समस्यालाई मध्यनजर गरी सहज उपचार सेवा दिलाउने उद्देश्यका साथ विभिन्न स्वास्थ्य केन्द्रहरुसम्म पुग्नका लागि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए।
गाउँपालिकामा कोही बिरामी परेमा उपचारका लागि गाडीमार्फत सदरमुकाम लैजान मात्रै झण्डै दुई दिन लाग्छ। सदरमुकाम लैजान भन्दा तराई जान छिटो हुने र बिरामीलाई भाडाको गाडीमार्फत पठाउँदा आर्थिक भार परेकाले गाउँपालिका अध्यक्ष-उपाध्यक्षलाई कार्यालय प्रयोजनका लागि गाडी भन्दा जनताका लागि एम्बुलेन्स आवश्यक देखिएकाले एम्बुलेन्स खरीद गरिएको अध्यक्ष बञ्जराले बताए।
‘आफूहरु स्कारपीयोमा सरर हुइँकिनु भन्दा जनताको लागि एम्बुलेन्स अनेकौ गुणा महत्वपूर्ण र अर्थपूर्ण छ।’ बञ्जरा भन्छन् । “साथीहरुले जनताको काम गर्नका लागि गाडी किन्न सल्लाह दिएकै हो। गाडी किनेर मलाई चर्चामा आउनु छैन, स्कारपीयो चढ्न मन छैन। जनताको स्वास्थ्य संवेदनशिलतामा ध्यान छ त्यसैले आजबाट एम्बुलेन्स पालिकामा आइपुगेको छ।”
स्थानीय तह कार्यान्वयन भएदेखी नै गाडीका लागि बजेट नछुट्याएको गाउँपालिकाले एम्बुलेन्स खरीद गरेको हो। विरामी, अतिविपन्न परिवार, समस्यामा परेका पालिकाका नागरिकहरुका लागि सेवा उपलब्ध गराउने गरि एम्बुलेन्स गाउँपालिकामा आएपछि पालिकाबासीमा खुशी छाएको छ।
६ वडा रहेको गाउँपालिकाका नागरिक बिरामी हुँदा उदयपुरको गाईघाट तथा तराइका अन्य क्षेत्रमा लगेर उपचार गराउनुपर्ने ती भेगका स्थानीयको बाध्यता हो। गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएपछि विरामीले उपचारका लागि अन्य ठाउँमा जान निःशुल्क एम्बुलेन्स सुविधा अब पाउने भएका हुन।
गाउँपालिकाले पालिकाभित्रका सडक निमाणार्थ जेसिभी पनि खरिद गरि ल्याएको छ। पालिकाले ४७ लाखमा जेसिभी ल्याइएको हो। जेसिभी ल्याएसँगै पालिकाका सडक हिँउद र वर्षायाम पनि निरन्तर संचालन गर्ने लक्ष्य राखिएको बञ्जराले बताए।