असार २१, खोटाङ - खोटाङको साकेला गाउँपालिकाकी एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसव पीडा बढेपछि र उनको अवस्था गम्भीर भएपछि साकेला गाउँपालिका वडा नम्बर - ४ मात्तिमकी २५ वर्षीया सरस्वती कट्वाललाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
गाउँपालिकास्तरमा उपचारका लागि पर्याप्त स्रोत, साधन नहुँदा उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको थियो जिल्ला अस्पतालमा पनि उपचार हुन नसकेपछि सोमबार हेलीकोप्टरमार्फत काठमाडौं लगिएको बताइएको छ।
सार्वजनिक सवारी नचलेको र गर्भवतीको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय खोटाङको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।