असार २०, खोटाङ - पहिरोका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ। भारी वर्षापछि खसेको पहिरोका कारण कारण हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको विभिन्न स्थानमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको हो।
केही दिनदेखि परेको वर्षाका कारण बाहुनीडाँडाको कदुवास्थित राँगाकाटे, डोङ्ठे खोला लगायतका स्थानमा शनिबार खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–जयरामघाट सडक अवरुद्ध बनेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।
पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रशासनको पास लिएर आवत–जापत गरिरहेका विरामी मारमा परेका छन्। पहिरो पन्छाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाले जेसिभि पठाएको भए पनि जेसिभिले पहिरो पन्छाउन सकेको छैन।
हलेसीदेखि बयाक्तासम्मको खण्डमा शुक्रबार खसेको पहिरो जेसिभि लगेर पन्छाइए पनि शनिबार राँगाकाटेमा ठूलो पहिरो खसेको छ। अवरुद्ध सडक खुलाउनका लागि अझै समय लाग्ने नगरपालिकाले जनाएको छ।
राँगाकाटेबाट जयराम पुग्ने सडक अवरुद्ध भएपछि हाल राँगाकाटेबाट वडा कार्यालय बाहुनीडाँडा हुँदै जयराम झर्ने कच्ची वैकल्पिक बाटोको प्रयोग भइरहेको मेयर राईले बताए।
तर, कच्ची बाटो भएकाले सो वैकल्पिक मार्ग पनि भरपर्दो हुन सकेको छैन। मध्यपहाडी लोकमार्ग सडक विभाग मातहतको भए पनि वर्षाकाबेला सो सडकमा खसेको पहिरो पन्छाउन विभागले बेवास्ता गर्ने गरेको नगरपालिकाले जनाएको छ।
राष्ट्रिय राजमार्गमा खसेको पहिरो पन्छाउने काममा विभागको उपस्थिति नहुँदा हरेक वर्षा याममा नगरपालिकाले पहिरो पन्छाउँदै आएको मेयर राईले बताए ।