असार १९, काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ।
अन्य ६ जना घाइते भएका छन्। घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ।
स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ।
यस्तै, गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन्।