असार १८, खोटाङ - खोटाङको जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमण दर सुन्य भएको छ। पिसिआर तथा एन्टीजेन परीक्षणमार्फत परीक्षण गर्दा गाउँपालिकामा ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
कोरोना भाइरसको दोस्रो लहर आएपछि पालिकामा ३५८ जनाको एन्टीजेन, तथा ४१ जनामा पिसिआर गरिएको थियो। ७० जना संक्रमित मध्ये एक जना पालिकाले निर्माण गरेको आइसोलेसनमा र अन्य होम आइसोलेसनमा बसेका थिए।
शुक्रबार गरिएको परीक्षणमा ७० मध्ये दुई जना निको हुन बाँकी रहेकाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकामा कोरोना संक्रमण सुन्य भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पवन प्रसाद पोख्रेलले जानकारी दिए।
संक्रमितको नियमित हेरचाह र औषधि उपचार गाउँपालिकका स्वास्थकर्मीको टोलीले घर घरमै गएर सेवा प्रवाह गरेको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा वा कोरोना लागेको शंका भएमा गाउँपालिकामा सम्पर्क गर्न तथा गाउँपालिकामा आएर स्वास्थ्य जाँच गर्न पालिकाबासीलाई आग्रह गरिएको छ।
गाउँपालिकाले हरेक दिन ११ बजेदेखी १ बजेसम्म पिसीआर तथा एन्टीजेन परीक्षण गर्दै आएको छ।
यो समाचार तयार पार्दासम्म खोटाङका १ हजार ५०३ जनाले कोरोना संक्रमणलाई जितेका छन्। जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल १ हजार ८३६ जनालाई संक्रमण भएकोमा १ हजार ५०३ जना संक्रमित निको भएका हुन् ।
१० स्थानीय तह रहेको जिल्लामा १ हजार ५०३ जनाले संक्रमण जित्दा र ९ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या ३०५ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।
यद्यपि, हाल कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ। गाउँ–गाउँमा संक्रमण फैलिरहँदा पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ।
अर्कातर्फ कतिपय सरकारी कार्यालय तथा हाटबजारमा भीडभाड पनि बढ्न थालेको देखिएको छ।
जिल्लामा हालसम्म ६ हजार २८९ जनाको एन्टीजेन र १ हजार ८३१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०३ जनालाई संक्रमण पुष्टि भएको हो।