असार १४, काठमाडौं - धान दिवसको अवसर पारेर भोलि असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको छ।
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैशाख १७ गतेको निर्णयअनुसार भोलि मंगलबार धान दिवसको अवसरमा बिदा दिइएको हो।
कर्णाली प्रदेशमा जुम्ला बाहेकका सबै जिल्लाका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताएका छन्।
जुम्लामा चैत्र १४ गते धानको बिउ राख्दाका दिन बिदा दिने गरिएको छ।
कर्णालीमा असार १५ गते दहीचिउरा खाएर भव्य रुपमा मनाउने भएका कारणले बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ।