असार ८, खोटाङ - खोटाङबाट एक जना सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत काठमाण्डौ उद्धार गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङकी २४ वर्षीया शान्ता कटवाललाई उद्धार गरिएको हो।
जन्मिएको शिशुलाई अनिवार्य आईसियुमा राख्नुपर्ने हुनाले महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट मंगलबार बिहान करीव ८ बजे सुत्केरी महिलाको उद्धार गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए।
घरैमा सोमबार राती ११ बजेबाट सुत्केरी व्यथा लागेर सिकिस्त बनेकी महिलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख रिजालले प्रयोग गर्ने गाडीले राती २ बजेपछि जिल्ला अस्पताल ल्याएको थियो।
जन्मिएको शिशुलाई अनिवार्य आईसियुमा राख्नुपर्ने हुनाले तुरुन्त आईसियुमा राख्न मिल्ने अस्पताल लान डाक्टरले सल्लाह दिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम माफर्त महिलालाई काठमाण्डौ पठाईएको नगरप्रमुख रिजालले बताए।
सुत्केरी महिलाको प्रशुतीगृह थापाथलीमा उपचार सुरु भएको छ। उनको स्वास्थ्यमा सुधार आएको शान्ताकी सानिआमा विष्णुमाथा थापाले जानकारी दिईन्। थापाका अनुसार ७ महिनामै उनलाई सुत्केरी व्याथा लागेको हो।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्लाबाट हालसम्म नौ जना महिलाको उद्धार गरिएको श्रोतले जनाएको छ।