काठमाडौं - कपिलवस्तुुका नेकपा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको योजना रहेको खुलेको छ । २५ दिन लामो प्रहरी अनुसन्धानबाट उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या भएको खुलेको हो ।
जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागि घाइते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार ओमप्रकाश र महिमाको सम्बन्धका विषयमा दीपकले जानकारी पाएपछि उनको हत्या योजना बनेको थियो ।
एसपी अधिकारीले भने, “हत्या योजना २-३ वर्षअघि नै बनेको देखिन्छ । उनीहरुले हतियार खरिद गरेर पेशेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको पनि खुलेको छ । लामो समयपछि उनीहरुले आफ्नो योजना सफल बनाएको देखियो ।” अनुसन्धानबाट ओमप्रकाश यादवले दीपकको हत्याको योजना बनाएको र हतियार खरिद तथा व्यवस्थापनको काम गरेका थिए ।
दीपकमाथि गोली प्रहार भएको दिन उनी पनि सोही समूहसँगै रहेको खुलेको छ । प्रहरीले प्रकाशको साथबाट एक थान पेस्तोल र ६८ राउण्ड गोलीसमेत बरामद गरेको छ । प्रहरीले हत्यामा संग्लन चार र हतियार व्यवस्थापनमा सातजनालाई पक्राउ गरेको छ ।
एसपी अधिकारीका अनुसार हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अलि पखियाको मुख्य भूमिका देखिएको छ । उनका अनुसार ओमप्रकाशले हत्याको योजना बनाएको, हतियार खरिद गरेको र आफ्नै उपस्थितीमा मार्न लगाएको खुलेको छ । रमजानले भने पाण्डेयलाई मार्नका लागि पटक-पटक ओमप्रकाशबाट एक लाख लिएको खुलेको छ ।
उनले नै पाण्डेयमाथि तीन राउण्ड गोली प्रहार गरेको खुलेको हो । एसपी अधिकारीका अनुसार साकिरले पाण्डेयलाई मार्न ओमप्रकाशबाट बैना रकम लिने, मृतकका गतिविधीमा निगरानी राख्ने, घटनामा प्रयोग भएको हतियार पूर्णवीर पाल्पालीको घरमा लुकाएर राख्ने गरेको पाइएको छ ।
महिमाको भने ओमप्रकाशसहित मजान साह मुसलान, सकिर अलि पखियासँग निरन्तर सम्र्पक रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका अन्यको भने हत्यामा नभई हतियार व्यवस्थापनमा संलग्नता रहेको खुलेको छ ।