• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


मौसमविद्को चेतावनी : मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने

मौसमविद्को चेतावनी : मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने

images

प्रभाव न्यूज

२७ जेठ २०७८
  • 12.0K
    SHARES
  • images
    मौसमविद्को चेतावनी : मनसुनजन्य  विपदबाट १८ लाख मानिस प्रभावित हुने
    images
    images
    images

    जेठ २७, काठमाडौं -  मनसुन भित्रि नै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।

    images

    गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुक सामु सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदर भन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ।

    उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन।

    “मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्र बाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ”, पोखरेलले भने, “त्यसलाई केन्द्रित गरेर नै पूर्व तयारी र प्रतिकार्य योजना अघि बढाएका छौँ ।”

    images

    विगतको तथ्याङ्क विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ। प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

    images

    सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो। एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमान सँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालिसकिएको छ। प्राधिकरणका उपसचिव वेदनीधि खनाल भन्छन्, “विगतका वर्षको अनुभव हेर्दा साउन­ असोजमा बढी प्रभाव पारेको देखिएको छ।”

    उनले बाढी­पहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए। खनाल यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुनसक्ने सम्भावना देखाउँछन्। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित र भरपर्दो बनाउने, अस्थायी आश्रयस्थल तथा तत्कालको राहतका लागि अहिलेदेखि नै व्यवस्थापन गर्ने, ठाउँठाउँ पुर्याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्ने गरी योजना निर्माण गरिएको प्राधिकरण प्रमुख पोखरेल बताउँछन्।

    यसपालि प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही हटस्पट भएको गाउँपालिकाको कार्य योजना पनि तयार पार्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ । गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन। सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन।

    त्यसलाई सिकाइकै रुपमा लिँदै विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ। जोखिम क्षेत्रको जानकारीलाई पनि मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । आवश्यक तयारीका लागि सरकारबाट कानूनी संरचना निर्माण र छिटो उद्धार कसरी गर्ने भन्ने समिति समेत बनाइसकिएको र त्यसले काम गरिरहेको पोखरेल बताउँछन्।

    सोही पूर्व तयारीका लागि आज प्राधिकरणले समन्वयात्मक रुपमा भर्चुअल बैठक समेत गरेको छ । उक्त छलफलमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापा क्षति न्यूनीकरण नै पहिलो लक्ष हुनुपर्नेमा जोड जोड दिन्छन्। यसपालि सरदर भन्दा बढी पानी पर्ने आँकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयासको खाँचो रहेको उनले औँल्याए।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले यसपालि मनसुन सक्रिय नै हुने देखिएको जानकारी दिइन्। “प्रि मनसुनमा जसरी वर्षा हुनुपर्ने थियो भएन, अहिले बङ्गालको खाडीमा न्युन चापीय क्षेत्र विकसित हुँदैछ जसका कारण देशभर मनसुन सक्रिय हुने देखिएको छ” उनले भनिन्।

    विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख विक्रम श्रेष्ठ हरेक वर्ष बाढीलाई फोकस गरेर २४ घण्टै पूर्व सूचना दिने गरिएको बताउँछन्। केही हप्ताअघि मनसुन आपतकालिन कार्ययोजना २०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीन पटक बाढीको सूचना दिने गरिएको उनले जानकारी दिए। “हामीले ठुला र साना खोलाको अबस्था कस्तो रहने छ भनेर समेत दिने गरेका छौँ”, उनले थपे।

    संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि सारा बेस्लो नयन्टीले नेपालको विपद्मा संयुक्त राष्ट्रसङघको सधैँ साथ र सहयोग रहने उल्लेख गर्दै कोभिड-१९, त्यसको आर्थिक सङ्कट र मनसुनजन्य विपद्मा सरकार र सबै निकाय मिलेर काम गर्नुपर्ने धारणा राखे। जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार विभिन्न तटबन्ध र जोखिम क्षेत्रमा प्रभावकारी उपाय अपनाई बाढी तथा डुबानको जोखिम न्यूनीकरण गरिरहेको तथा आवश्यक तार जाली बोरा, भण्डारणको तयारी थालिएको छ।

    यादवले सीमावर्ती क्षेत्र तटबन्ध र अरु संरचनाले पु-याएको अवरोधका सन्दर्भमा भारतसँगको समन्वयमा निकास निकाल्ने काम शुरु भएको बताए । सीमा क्षेत्रमा वर्षेनी डुबान हुँदै आएको छ। बजेटको अभाव भएकाले चुनौतीपूर्ण अवस्था कायमै रहेको उनले बताए। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल विपद्को समयमा नागरिकलाई सचेत बनाउन मिडिया प्रभावकारी माध्यम भएको बताउँछन्।

    कोरोनाका बेला मास्कको प्रयोग गर्ने विषयमा ८५ प्रतिशत मानिसले मिडियाबाट जानकारी पाएको भन्ने अध्ययनबाट देखाएकाले विपद्का बेलामा पनि मिडियामार्फत सूचना जाँदा थप प्रभावकारी हुने उनको भनाइ थियो।

    images
    images

    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - ०८:५४:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij