विराटनगर २६ जेठ - नेकपा एमालेको सत्ता पक्षको नेतृत्व रहेको प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा अब विपक्षी गठबन्धनको तर्फबाट अविश्वासको प्रस्ताव आउन सक्ने भएकोह छ । प्रदेशका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य सांसद केदार कार्कीले सरकार चलाउन नसके अरुलाई नै सरकार चलाउन दिन मुख्यमन्त्री राईलाई आग्रह गरेका छन् । आज बुधबार प्रदेश सभाको बैठकमा विशेष समयमा सांसद कार्कीले भने, “सरकार आफू काम गर्न नसक्ने अवस्थामा पुगेपछि सरकार विपक्षीका कारण काम गर्न नसकेको भन्ने आरोप लगाउने गरिएको छ । मुख्यमन्त्री आफैँ सदनमा उभिएर झुट बोलिरहनुभएको छ । बरु, आफू काम गर्न सक्नु हुन्न भने आफ्नै दलको काम गर्न सक्नेलाई सरकारको नेतृत्व गर्न दिनुहोस्”। जनताप्रति जिम्मेवार बन्न नसक्ने काठमाडौँ मात्र धाउन व्यस्त राईले सरकारको नेतृत्व निभाउन नसकेको कार्कीको दावी रहेको छ । “मन्त्रीहरु काठमाडौं जान व्यस्त हुनुहुन्छ । सरकार कहाँ छ ? मुख्यमन्त्रीज्यूलाई पनि गाली गर्नु हुन्न, मधुमास मनाउन पाउनपर्छ । जनता मर्दै जाने, सरकार लास गन्दै जाने गर्दै छ ”उनले भने । मुख्यमन्त्री राईमाथि सांसद र जनता ठगेको आरोप लगाएका कार्कीले कोरोनाका उपचार गर्न छुट्टाएको ५० करोड रकम कता गयो भन्दै प्रश्न समेत गरेका छन् ।