जेठ २१, खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी जवान विरुद्ध शारीरिक यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । आफन्तसँग झगडा गरेको विषयमा ईलाका प्रहरी कार्यालय पुर्याइएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका २८ वर्षीय किरण राईलाई कुटपिट गरेको भन्दै प्रहरी जवान विमल कार्की विरुद्ध आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी परेको हो । किरणका बुवा दिलीपकुमार राईले जेठ १६ गते प्रहरी जवान विरुद्ध छानबीन एबं कारबाहीका लागि उजुरी दिएका हुन् । कुटपिटका कारण किरणको पैताला र पिडौंलामा निलडाम बसेको उजुरीमा उल्लेख छ । जेठ १२ गते आफन्तसँगै झगडा गरेका किरण विरुद्ध उजुरी परेपछि प्रहरी जवानले जेठ १३ गते कुटपिट गरेको उजुरीकर्ताको भनाई छ । आफन्तसँगको झगडामा मिलापत्र गरेर फर्किएपछि किरणका परिवारले प्रहरी विरुद्ध आयोगमा उजुरी दिएका हुन् ।