खोटाङ- भारतको पश्चिम बंगालबाट विकसित भएको ‘यास’ नामक शक्तिशाली चक्रवातका कारण अति भारी वर्षा, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
पश्चिम बंगालको खाडीबाट विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात समुन्द्रबाट जमिनतर्फ प्रवेश गरिसकेको अवस्थामा जेठ १३, १४ र १५ गते देशका भू–भाग लगायत प्रदेश नम्बर १ का विभिन्न स्थानमा अति भारी वर्षा हुने, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना देखिएको भन्दै प्रशासनले सर्वसाधारण एबं विपद व्यवस्थापनमा खटिने सबै पक्षलाई उच्च सतर्क अवस्थामा रहन आग्रह गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी बिकल श्रेष्ठले जारी गरेको सूचनामा बस्ती नजिक बाढी, पहिरो, डुवान आदिको जोखिम आँकलन गरी सुरक्षाकर्मी एबं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न, नदी, खोला किनार एबं सम्भावित पहिरो जाने एवं जोखिमपूर्ण क्षेत्र आसपास बसोबास गर्ने बासिन्दालाई सतर्क अवस्थामा रहनका लागि सूचित गरेको छ।
यस्तै, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला, बालबालिकाको जीउधनको सुरक्षामा विशेष ध्यान दिन, आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुवान, कटानको जोखिम देखिए सुरक्षा निकाय, पालिका एवं जिल्ला विपद व्यवस्थापन समितिलाई जानकारी गराउन, जिल्लामा रहेका सबै सुरक्षा निकाय, विपद व्यवस्थापनमा संलग्न सरकारी एवं गैर–सरकारी निकायहरुलाई उच्च सतर्क एवं तयारी अवस्थामा रहन भनिएको छ।
सम्भावित वर्षा एवं बाढी पहिरोका बारेमा थाहा पाउन जल तथा मौसम बिज्ञान बिभागको टोल फ्री नम्बर ११५५ मा फोन गर्न, तत्काल खोज, उद्धार र राहतको लागि राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ मा फोन गर्न र पर्वतारोहणका लागि हिमालतिर गएका टोलीलाई फिर्ता बोलाउन सूचनामा भनिएको छ।