खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा केही समयअघि एउटा विवाह सम्पन्न भयो। विश्वभर कोभिड–१९ को महामारी फैलिरहेका बेला सम्पन्न बिवाहपछि एन्टीजेन परीक्षण गर्दा सो विवाहमा सहभागी धेरैजसोमा संक्रमण देखियो।
सो विवाहमा दुलही लिन तराईबाट दुलहा जन्ती लिएर आएका थिए। विवाहका लागि काठमाडौं लगायतका शहरमा बसोबास गरिरहेका आफन्त पनि आउने नै भए।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङले सकेसम्म थोरै संख्यामा धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्नका लागि सूचना जारी गरेको केही समयपछि भएको सो विवाहमा त्यस विपरित शहर बजार र गाउँका मान्छे एक ठाउँमा भेला भए। केही समयपछि एन्टीजेन परीक्षण गर्दा विवाहमा सहभागीमध्ये धेरैजसो व्यक्तिमा संक्रमण पुष्टि भएको देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। ‘बढीजसो विवाह र भोजभतेरमा सहभागी भएका व्यक्तिलाई संक्रमण भएको देखिएको छ।
त्यसमा पनि १८ वर्षभन्दा माथिका र ५० वर्षभन्दा मुनिका व्यक्तिलाई संक्रमण भएको पाइएको छ,’ मेयर राईले भने, ‘पहाडका बेहुला वा बेहुली र तराईतिरका बेहुला वा बेहुली भएको अवस्थामा जोखिम बढी देखिएको छ। यही बेला शहरबाट हुने आवागमनले पनि संक्रमण फैलिन सघाउ पु¥याएको देखिएको छ।’
हलेसी तुवाचुङ नगरपालिकामा संक्रमितको संख्या २८ नाघेको छ। यस्तै, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको एउटा गाउँमा ५ जनालाई संक्रमण देखियो। संक्रमित हुनेमा धेरैजसो आफ्नो गाउँभन्दा बाहिर नगएका स्थानीय छन्। ‘गाउँमा कसरी संक्रमण भित्रियो’ भन्ने विषयमा अध्ययन गर्दा इटहरीबाट आएका एक स्थानीयबाट सिंगो गाउँमा संक्रमण छिरेको अनुमान गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए। अहिले गाउँ–गाउँमा कोभिड–१९ को संक्रमण फैलिएको देखिएको छ।
एन्टीजेन परीक्षण वा पिसिआर परीक्षणका क्रममा कहिल्यै गाउँ नछाडेका स्थानीय समेत कोभिड–१९ बाट आक्रान्त बनिरहेको पाइएको छ। यसले समुदायस्तरमै कोभिड–१९ फैलिसकेको पुष्टि गर्छ। स्वास्थ्य संकट निम्त्याउने संकेत गर्छ। कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) र जिल्लाका १० वटै स्थानीय सरकारले स्वास्थ्य सुरक्षामा मापदण्ड पालनका लागि पटक–पटक सूचना जारी गर्दैआएको छ।
तर, त्यसको गम्भीरतापुवर्क पालना गरिएको छैन। थोरैभन्दा थोरै संख्यामा बिवाह, ब्रतबन्ध, भोजभतेर गर्न भनिए पनि त्यसलाई अधिकांशले बेवास्ता गरेको देखिन्छ। स्वास्थ्य सुरक्षाको पालनामा भएकै बेवास्ताको कारण हाल कोभिड–१९ को संक्रमण गाउँ–गाउँमा प्रवेश गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल बताउँछन्।
‘जिल्ला बाहिरका जोखिम भएको ठाउँबाट आउने व्यक्तिबाट संक्रमण भित्रिएको देखिन्छ। त्यस्तै विवाह र भोजभतेरमा जम्मा हुनेमा संक्रमण हुने दर बढी देखिएको छ,’ मेयर रिजालले भने, ‘हाम्रो नगरपालिकामा हालसम्म ५८ जनालाई संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ७ जना निको भइसकेका छन्। ५८ जनाको हिस्ट्री अध्ययन गर्दा विवाहमा सहभागी हुनेहरुलाई नै बढी संक्रमण भएको देखिन्छ।’
साकेला गाउँपालिकाका २३ जना संक्रमितमध्ये २ जनाले कोरोना जितिसकेका छन्। अहिलेसम्मको संक्रमितको हिस्ट्रीका बारेमा अध्ययन गर्दा काठमाडौं, चितवन जस्ता ठाउँबाट आएका व्यक्तिबाट कोभिड–१९ को संक्रमण फैलिएको पाइएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृन रबिन मगरले बताए ।
‘जिल्लाभन्दा बाहिरबाट आएका व्यक्तिबाट जोखिम देखिएको छ,’ मगरले भने, ‘व्यक्तिबाट क्रमशः उसको परिवार, छरछिमेक हुँदै समुदायमा संक्रमण फैलिएको छ। यही बेला गाउँघरमा हुने विवाहमा त्यही संक्रमित पुग्दा एकैपटकमा धेरैलाई संक्रमण फैलिरहेको पाइएको छ।’