• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


मोरङको केराबारीमा वडाध्यक्षको भैँसी मर्‍यो, कारबाहीमा परे कर्मचारी

मोरङको केराबारीमा वडाध्यक्षको भैँसी मर्‍यो, कारबाहीमा परे कर्मचारी

images

प्रभाव न्यूज

२६ माघ २०८१
  • 3.2K
    SHARES
  • images
    मोरङको केराबारीमा वडाध्यक्षको भैँसी मर्‍यो, कारबाहीमा परे कर्मचारी
    images
    images
    images

    मोरङको केराबारी गाउँपालिकामा वडाध्यक्षको भैँसी मर्दा कर्मचारी कारबाहीमा परेका छन्। भैँसीलाई गलत तरिकाले औषधि खुवाइएको भन्दै पशुपन्छी शाखा प्रमुखलाई बिहीबारबाट हाजिर गर्न रोक लगाइएको छ।

    images

    उपचार गर्ने क्रममा भैँसी मरेपछि कामकारबाहीमै रोक लगाएर पशुपन्क्षी शाखाका प्रमुख सहदेव साहमाथि गाउँपालिकाले छानबिन अघि बढाएको हो। छानबिनका लागि भनेर गाउँपालिकाको कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको संयोजकत्वमा पशु प्राविधिक र जनप्रतिनिधिसहितको ३ सदस्यीय समिति गठन गरिएको छ।

    समितिले घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउने र उपचारका क्रममा गल्ती भए नभएको यकिन गर्ने जिम्मेवारी पाएको छ। घटनास्थल मुचुल्का उठाएर परीक्षणका लागि मृत भैँसीको नमुना संकलन गरिएको संयोजक बाँस्तोलाले बताए। परीक्षणको ‘रिपोर्ट’ आइसकेपछि थप कारबाही अघि बढाउने गाउँपालिकाको तयारी छ। पशुपन्क्षी शाखाका प्रमुख साहले उपचार गर्ने क्रममा केराबारी गाउँपालिका–३ का वडाध्यक्ष रामचन्द्र शाहीको भैँसी मरेको थियो।

    गत मंगलबार भैँसी मरेको थियो। वडाध्यक्षसहित केही गाउँलेहरु बिहीबार गाउँपालिकामा ‘डेलिगेसन’ गएका थिए। वडाध्यक्ष शाहीले दुई पक्षलाई राखेर छलफल गराई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै गाउँपालिका र इलाका प्रहरी कार्यालय केराबारीमा निवेदनसमेत दिएका छन्। प्रहरीमा शुक्रबार छलफल भएको थियो। तर, छलफलका क्रममा साहले आफूबाट कुनै गल्ती नभएको बताएका थिए। null वडाध्यक्ष शाहीले भने पशुपन्छी शाखा प्रमुख साहको लापरबाहीले आफ्नो भैँसी मरेको बताए।

    images

    ‘घरमा १ महिना ७ दिनको सुत्केरी भैँसी थियो। दैनिक १२ लिटरसम्म दूध दिन्थ्यो। नाम्लेको लक्षण देखिएपछि गाउँपालिकाबाटै पशु स्वास्थ्यकर्मी झिकाएर देखायौं। औषधि खान दिए। तर, भैँसी मर्‍यो,’ उनले भने। उनका अनुसार सुत्केरी भएको २२ दिनमै नाम्लेको औषधि खुवाइसक्नुपर्नेमा ढिलो भएको भन्दै २ बोतल (प्रतिबोतल १ सय मिलिलिटर) औषधि एकैपटक खुवाउनु भनेर साहले दिएका थिए। बिहान ७ बजे औषधि खुवाएको भैँसी करिब ३ घण्टापछि छटपटाउन थालेको शाही बताउँछन्।

    images

    ‘सुत्केरी भैँसी भुइँमा ढलेर छटपटाउन थालेपछि पुनः साहलाई बोलायौं। औषधि धेरै भएकाले समस्या भएको भन्दै त्यसको असर (विष) हटाउने सुई लगाउनुपर्छ भने। एकैपटक २ वटा सुई लगाइदिए। केहीबेरमा त भैँसी मरिहाल्यो,’ उनले भने। भर्खरै बियाएको भैँसी मर्दा आफूलाई १ लाख ४० हजार रूपैयाँ बराबरको नोक्सान भएको शाहीले बताए। उनले नाम्लेको औषधि ‘ओभरडोज’ (धेरै) भएर भैँसी मरेको दाबी गरे। ‘एकैपटकमा धेरै औषधि दिएकाले भैँसी मरेको हो। उपचारमा संलग्नलाई कारबाही हुनुपर्छ।

    हामी किसान हौं। क्षतिपूर्ति पाउनुपर्छ,’ उनी भन्छन्। तर, गाउँपालिका र प्रहरीमा छलफल गराउँदा साहले आफ्नो गल्ती स्वीकार नगरेको र कानुन अनुसार अघि बढ्न तयार रहेको भनेर अड्डी कसेको वडाध्यक्ष शाहीले बताए। गाउँपालिकाले राहतको आश्वासन दिएको उनी बताउँछन्। ‘मेरो भैँसी मात्रै हैन। गाउँपालिकाको पशु प्राविधिक साहबाट उपचार गराउँदा अरु धेरै जना गाउँलेका चौपाया मरेका रहेछन्। अरू पनि पीडित छन्। उपचार गराउन भनेर बोलायो। उपचार सुरु गर्नासाथ मरिहाल्दा रहेछन्,’ उनले भने। स्थानीयले पशुपन्छी शाखा प्रमुख साहको उपचार पद्धति र क्षमतामा प्रश्न उठाएको शाही बताउँछन्।

    मरेको भैँसीको क्षतिपूर्ति पनि साहले तिर्न नमानेको उनको भनाइ छ। उनका अनुसार साहले यसअघि उपचार गर्ने क्रममा चौपाया मरेका पीडितहरु भेला भएर क्षतिपूर्तिका लागि सामूहिक दबाब दिने तयारी छ। साहमाथि भएको कारबाहीलाई लिएर गाउँपालिकाका कर्मचारी भने रुष्ट बनेका छन्। कार्यालय समयमा कर्मचारीले कार्यालयकै औषधि लगेर खुवाउँदा पशु चौपाया मारेमा दोष दिन नमिल्ने उनीहरुको तर्क छ।

    भैँसीको गोबर परीक्षण गरेर नै पशु प्राविधिक साहले औषधि चलाएको पाइएको कर्मचारीहरु बताउँछन्। एक कर्मचारीले वडाध्यक्षको भैँसी मरेर क्षति भएपनि दबाबका भरमा जेपायो त्यही गरिएको र कर्मचारीलाई अनआवश्यक ‘टर्चर’ दिने काम भइरहेको बताए। ‘यसरी उपचार गर्ने क्रममा घरपालुवा जनावर मरेमा कर्मचारीलाई दोष दिनु, कामकारबाहीमा रोक लगाउनु र छानबिनका नाममा तनाव दिनु ठीक हैन।

    अहिले जनप्रतितिनिको भैँसी मर्यो। भोलि अरुले पालेका चौपाया मर्लान्। अनि उपचारमा संलग्न कर्मचारीले क्षतिपूर्ति तिर्नुपर्छ भनेर दिइने दबाबले गलत अभ्यास बसाउँछ,’ ती कर्मचारीले भने। उनका अनुसार यसरी नै तनाव दिने हो भने भोलिका दिनमा पशुको उपचार गर्न कर्मचारी तयार नहुने अवस्था आउन सक्छ। ‘वडाध्यक्षले जे भन्नु भयो, गाउँपालिकाले पनि त्यही गरिरहेको छ। कर्मचारीलाई काम गर्न रोकेर हाजिर पनि गर्न दिइएको छैन।

    तर, विज्ञहरुले भैँसीलाई दिएको औषधि ठीक थियो भनिरहेका छन्,’ उनले भने। छानबिन समितिका संयोजक बाँस्तोला गाउँपालिकाका कर्मचारीले उपचार गर्ने क्रममा जनप्रतिनिधि (वडाध्यक्ष)को भैँसी मरेको बताउँछन्। ‘कर्मचारीका कारण भैँसी मरेको आरोप लागेपछि उपचारको प्रक्रिया ठीक थियो कि थिएन भनेर हामी हेर्दैछौं। थप कुरा बुझ्ने काम भइरहेको छ। छानबिनबाट प्राप्त विवरण गाउँपालिकालाई बुझाउँछौं,’ उनले भने। गाउँपालिकाका पशुपन्छी शाखा प्रमुख साहले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्। ‘अहिले म केही पनि भन्दिन’ भन्दै उनले फोन काटिदिए। साहको व्यवहारले पनि भैँसीको उपचार लापरबाहीपूर्ण तरिकाले भएको थियो भनेर प्रष्ट हुने स्थानीयको दाबी छ।

    गाउँपालिका उपाध्यक्ष मनमाया मगरले आफू बाहिर रहेकाले धेरै कुरा थाहा नभएको बताइन्। ‘उपचारका क्रममा वडाध्यक्षको भैँसी मरेको कुरा मैले पनि सुनें। तर, विज्ञहरुसँग बुझ्दा औषधि ठीक हो, गलत हैन भनेका छन्। थप कुरा छानबिनबाट खुल्छ होला,’ उनले भनिन्। गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले समस्या समाधान नभएसम्मका लागि पशुपन्छी शाखा प्रमुखलाई काममा रोक लगाइएको बताए। ‘वडाध्यक्षले कर्मचारीकै लापरबाहीले भैँसी मरेको गुनासो गर्नु भएको छ।

    यसमा छानबिन हुँदैछ। समस्या टुंगोमा नपुगेसम्मका लागि हाजिर नगर्नु भनेका छौं,’ उनले भने। पशु प्राविधिककै परामर्श अनुसार औषधि खुवाउँदा मरेको भैँसीको पोस्टमार्टम गर्न नपाइएको उनको भनाइ छ। ‘पोस्टमार्टम गर्न पाएको भए मृत्युको कारण प्रष्ट हुन्थ्यो। यो ठाउँमा पोस्टमार्टम सम्भव रहेनछ। तर, पीडितलाई क्षतिपूर्ति दिने गाउँपालिकाको तयारी छ,’ मिरिङचिङले भने।

    उनका अनुसार पशुपन्छी शाखा प्रमुख साहका बारेमा स्थानीयबाट धेरै गुनासो आइरहेको छ। अन्तै सरुवा गर्नुपर्छ भनेर स्थानीयले दबाब दिइरहेको उनले बताए। अध्यक्ष मिरिङचिङ जनआक्रोशका कारण साहलाई काम गर्न दिने वातावरण नबनेको बताएका छन् - अन्नपूर्ण 

    images
    images

    प्रकाशित :माघ २६, २०८१ शनिवार - ०८:३५:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij