खोटाङ– कृषि विज्ञ खोटाङका मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । शुक्रबार जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उक्त सजाय तोकेको हो ।
उनलाई माघ १० गते जिल्ला अदालतले दोषी ठहर गरेको थियो । राई आफैँले खोलेको दिक्तेल–२ सोल्मास्थित ‘सुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेको थियो ।
अभियोग लागेका राईलाई २ वर्ष ६ महिना जेल सजाय, १ लाख जरिवाना र पीडित किशोरीले पाउने गरि १ लाख ५० हजार क्षतिपूर्तीसहित फैसाला भएको अदालतका श्रेष्तेदार सिताराम खड्काले प्रभावन्यूजलाई जानकारी दिए ।
राईविरुद्ध २०८० साल जेठ २१ गते सरकारी वकिलको कार्यालय दिक्तेलमा र जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
उमेरले ७५ वर्षीय राईले बालिका तथा किशोरीहरूको संवेदनशील अंगमा हात हाल्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको आरोप थियो ।
फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी एक १६ वर्षीय किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई २०८० वैशाख २९ गते पक्राउ परेका थिए ।
उनले गरेका हर्कतको फोटो तथा भिडियोको आधारमा मुद्दाको फैसला नभएसम्म फाउण्डेसनमा जान नपाउनेगरी २०८० जेठ २२ गते पुर्पक्षका लागि चार लाख धरौटी तिरेर तारेखमा रिहा भएका थिए।
राईविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी अभियोग पत्र दायर गरेको थियो । अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरिएको थियो ।