काडमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूलाई देशबाट निष्कासन गर्ने नीतिलाई झनै कडाइका साथ अगाडि बढाएका छन्।
अमेरिकामा अवैध अप्रवासी हालसम्म १४ लाख ४५ हजार ५४९ जना रहेको र उनीहरुलाई आफ्नै देश फिर्ता पठाउँने सूचीसमेत अमेरिकी सरकारले सार्वजनिक गरिसकेको अवस्था छ ।
उक्त सूचीमा नेपालका १ हजार ३ सय ५ जना नेपाली रहेका छन्। उनीहरुलाई नेपाल फिर्ता पठाउनेबारे हालसम्म पछिल्लो जानकारी केही प्राप्त भएको छैन्। ट्रम्प प्रशासनले नेपाली अवैध आप्रवासीको संख्यामात्र सार्वजनिक गरेको अवस्था छ।
अमेरिकी यस नीतिका कारण अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूमा पनि त्रास फैलिएको अवस्था रहेको विभिन्न संचारमाध्यमहरुले बताएका छन्। कतिपय विद्यार्थीहरूले काम छोडेका छन् भने अन्यले आफ्नो सुरक्षाका लागि सचेत रहनुपर्ने अवस्था देखिएको छ।
नेपाल सरकार भने यस विषयमा हालसम्म मौन देखिएको छ। अमेरिकी सरकारसँग समन्वय गरी निष्कासन सूचीमा परेका नेपाली नागरिकहरूको नामावली प्राप्त गर्ने वा उनीहरूको सुरक्षाका लागि पहल गर्ने कुनै ठोस कदम चालिएको छैन।
यस परिस्थितिमा, अमेरिकामा रहेका नेपालीहरूले आफ्नो कानूनी स्थिति सुनिश्चित गर्न र आवश्यक परामर्श लिनु अत्यन्त महत्वपूर्ण छ।
साथै, नेपाल सरकारले पनि आफ्ना नागरिकहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।