काठमाडौं- साइबर अपराध कसुरमा रश्मिला धामी पुनः पक्राउ परेकी छन् । यसअघि आपराधिक लाभ (एक्सटर्सन) र विद्युतीय अपराध (साइबर क्राइम) मा पक्राउ परेर रिहा भएकी धामीलाई प्रहरीले पुन विद्युतीय अपराध कसुरमा पक्राउ गरेको जनाएको छ ।
काठमाडौँस्थित माइतीघर मण्डलाबाटै सिंहदरबार वृत्त अनामनगरको टोलीले धामीलाई पक्राउ गरेको सिंहदरबार वृत्तका प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलले जानकारी दिए।
एक युवतिको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा रहेकी धामीको ४ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दे सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने गरेको आरोपमा धामी पक्राउ परेकी थिइन्।
नेपाल प्रहरीको साइबर ब्युरोले धामीलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो ।
त्यसअघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी धामीले सजाय भुक्तान नगर्दै फेरि सोही प्रकृतिको अपराध गरेको पाइएपछि अदालतबाट पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको थियो ।
जिल्ला अदालत काठमाडौँले धामीलाई साइबर अपराधमा दोषी ठहर गर्दै ७ दिन कैद, ३० हजार जरिवाना र पीडितलाई डेढ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
सो फैसलाको पूर्ण पाठ नआउँदै धामीले सामाजिक सञ्जालमार्फत पुनः आपत्तिजनक ढंगले चरित्रहत्या गरेको भिडियो तथा अन्य प्रमाणसहित जाहेरी परेको थियो । त्यसपछि पक्राउ गरेर छुटेकी धामी पुन पक्राउ गरेकी हुन् ।
एमाले नेता ऐन महरले आफूमाथि बलात्कार गरेको धामीको आरोप छ ।
महर पक्षले भने धामीले बलात्कार जस्तो जघन्य अपराधको आरोप लगाउँदै आफूहरूसँग रकम मोलमोलाइ गरेको बताउँदै आइरहेको छ ।