नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्यमा कुनै समस्या नरहेको निष्कर्ष निकालिसकेको छ ।
सरकारमा सहभागी भएको ६ महिनामा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने १० मन्त्री र २ राज्यमन्त्रीसँगको छलफलपछि कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो ।
गृहमन्त्री रमेश लेखकले नागरिकलाई बढीभन्दा बढी सेवा प्रवाह गर्ने र आर्थिक सुशासन कायम गर्नेगरी सरकार अगाडि बढेकाले कुनै समस्या नभएको दाबी गरेका छन्।
तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँग कुरा गर्दै भने– ‘यो सरकार निरीह, कमजोर र गैरजिम्मेवार हो। हामी सदनबाटै लोकतान्त्रिक तरिकाले विधेयकहरु अघि बढोस् भन्ने चाहन्छौं। सदन बोलाउन हामी विपक्षीहरुले ज्ञापनपत्र पनि बुझाइसकेका छौं।’
उनले कांग्रेसको संस्थापन पक्षका नेताहरूमा पनि असन्तुष्टि बढ्दै गइरहेकाले यो सरकार लामो नजाने जिकिर गरे । उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन।
तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ। हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन। घटनाक्रम तपाईंहरूले देखिराख्नुभएको छ।
कांग्रेसकै संस्थापनमै पक्षका नेताहरूको असन्तुष्टिले यो सरकार सहज ढंगले अगाडि जाने देखिएको त छैन। हामी गम्भीर रूपमा हेरिरहेका छौं । सरकार आफैंले पनि आयु छोड्याइरहेको छ।’