विराटनगर - नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङका सदस्य अनिलकुमार पोखरेलले एमबीबीएसमा निकालिइदिनकै लागि रकम लिएको लिखत, प्रमाण फेला परेको छ ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ का बौआलाल चौधरीसँग छोरी दीक्षा चौधरीको नाम एमबीबीएसमा निकालिइदिनकै लागि पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ बुझेको चेकको अर्धकट्टीमा पोखरेल आफैंले हस्ताक्षर गरेको प्रमाण फेला परेको हो ।
विभिन्न मितिमा चौधरीसँग सो रकम लिएपछि २२ मङ्सिर २०७३ मा चेकको अर्धकट्टीमा रकम बुझेको हस्ताक्षर गरेको पाइएको छ ।
‘तपाइको छोरी दीक्षा चौधरीलाई एमबीबीएसमा भर्ना गराउन लाग्ने ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत बुझिलिएको छु’ पोखरेलले चेकको अर्धकट्टीमा लेखेर हस्ताक्षर गरेका छन् ।
वरिष्ठ कृषि प्रसाद अधिकृतमा कार्यरत चौधरीले विराटनगर १४ डिग्री क्याम्पस अगाडिको १ कट्ठा जग्गा बिक्री गरेर अनिललाई पैसा दिएको बताएका छन् । ‘दुःख गरेर कमाएको पैसाले किनेको एक कट्ठा जग्गा ४० लाखमा विक्री भयो । छोरीलाई डाक्टर बनाउन सो जग्गा विक्री गरेको पैसा २०७१ देखि २०७३ मा पटक–पटक गरेर बुझाएको थिएँ,’ चौधरीले भने, ‘सबै रकम बुझेपछि पोखरेलले विराटनगरमा आएर चेकको अर्धकटट्टीमा हस्ताक्षर गरेका हुन् ।’
एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टलमा राख्ने वातावरण बनाइदिने भन्दै पोखरेलले चौधरीबाट रकम लिएका थिए ।
तर, दीक्षाको नाम निस्किएन । चौधरीले पहिलो किस्ताबापत २०७१ फागुन १३ मा साथी केदारप्रसाद घिमिरेमार्फत अनिललाई ५० हजार रुपैयाँ दिएका थिए भने रामदेव सिंहमार्फत १ लाख रुपैयाँ नबिल बैंकमा रहेको अनिलको खाता नं ३५१००१७५०३९८१ मा जम्मा गरेको बैंक भौचरमा उल्लेख छ ।
२०७३ जेठ १३ मा नबिल बैंकको सोही खातामा १ लाख ३० हजार जम्मा गरिएको थियो । २०७३ मङ्सिर २२ मा बौआलालले एकमुष्ट १८ लाख रुपैयाँ जम्मा गरिदिए ।चौधरीका अनुसार पैसा लिएपछि अनिल करिब ३–४ महिना सम्पर्कविहीन भएका थिए ।
एमबीबीएसको प्रवेश परीक्षामा छोरीको नाम निस्केला भनेर पर्खेर बसेका उनी पोखरेल सम्पर्कविहीन भएपछि निराश भए । ‘बल्लतल्ल सम्पर्क हुँदा कहिले अस्ट्रेलिया पुगेको छु भन्थे, कहिले क्यानडा,’ चौधरीले भने, ‘त्योबेला म र परिवार पुरै तनावमा थियौं, एकातिर छोरीको डाक्टर बन्ने सपना उसको विश्वासमा पर्दा तुहियो, अर्कोतिर रकम पनि डुब्यो ।’ चौधरीका अनुसार एकपटक अनिलले सहकारीमा पैसा राखेको र चाहिएका बेला झिक्न मिल्ने बताएका थिए।
अर्कोपटक भने क्यानडाबाट आफ्नो एक करोड रुपैयाँ आउन लागेको र आउने बित्तिकै पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए । एक पटक पैसा नभएको बैंक खाताको चेक पनि दिन खोजेको भएपनि लिन नमानेको उनले बताए। एमाले मोरङको जिल्ला अधिवेशनताका पनि अनिलको ठगी धन्धाबारे बौआलालले ध्यानाकर्षणसहित निवेदन दिएका थिए ।
तर, एमालेबाट बौआलालले सहयोग पाएनन्, बरु अनिलले भने संरक्षण पाइरहे ।२०७९ साउन ९ मा भने हिसाब चुक्ता गरिदिन्छु भनेर अनिलले बौआलाललाई काठमाडौँ बोलाए।
‘तपाईंको हिसाब चुक्ता गरिदिन्छु आउनुहोस् भनी बोलाई ८–१० जनाको समूहले मलाई २०७४ असार २५ गते आइतबारको मिति राखिएको कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराए,’ उनले अदालतमा दिएको निवेदनमा उल्लेख छ ।