खोटाङ - नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको ‘राष्ट्रिय शिक्षा पुरस्कार–२०८१’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित जनजागृति आवासीय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले प्राप्त गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको पुरस्कार शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति आवासीय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राईले प्राप्त गर्नुभएको हो ।
शुभम् फाउण्डेशनका प्रबन्ध÷निर्देशकसमेत रहनुभएका जनजागृति आवासीय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राईलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत राष्ट्रिय शिक्षा पुरस्कार स्वरुप प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी स्थायी घर भइ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बसेर शैक्षिक रुपान्तरणको काम गर्दै आउनुभएका अध्यक्ष राईले नेतृत्व गर्नुभएको जनजागृति आवासीय माध्यमिक विद्यालयमा जीवनोपयोगी शिक्षाको अभ्यास गरिएको छ ।
विद्यार्थी सङ्ख्या घटेपछि वि.सं. २०७२ सालमा खारेज हुने अवस्थामा पुगेको तत्कालीन जनजागृति प्राथमिक विद्यालयलाई शुभम् फाउण्डेशनले जिम्मा लिएर जीवनोपयोगी शिक्षाको अभ्यास गर्ने थलोका रुपमा जगाएको थियो । तत्कालीन जिल्ला शिक्षा कार्यालयले खारेज गर्न लागेको जानकारी पाएपछि अभिभावककै आग्रहमा शुभम् फाउण्डेशनले जनजागृति प्राविलाई ‘गरि खान सिकाउने’ विद्यालयका रुपमा विकास गरेको हो ।
कृषिविज्ञ मदन राईले वि.सं. २०७० मा स्थापना गर्नुभएको शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति आवासीय माध्यमिक विद्यालयले ‘ह्युमन स्कूल र मदर इजुकेसन’को नारा अवलम्बन गरिरहेको छ । शुभम् फाउण्डेशनले विद्यार्थीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यले रुचि र इच्छाअनुसार चार क (कोदालो, क्यामेरा, कम्प्युटर र कलम) अर्थात ‘कोदालोदेखि कम्प्यूटर’सम्म चलाउन सक्ने किसिमको जीवनोपयोगी शिक्षाको अभ्यास गराउँदै आएको छ ।
शुभम् फाउण्डेशनमा पूर्वी ईलामदेखि झापा, मोरङ, सिराहा, सर्लाही, उदयपुर, सोलुखुम्बु, महोत्तरी, धादिङ, काठ्माण्डौं, ललितपुर, कास्की, हुम्ला, कालिकोट, बाजुरा, रुकुम, रोल्पा, जुम्ला, सल्यान, सुर्खेत, बाँके, बैतडी, दार्चुला लगायतका विद्यार्थी अध्ययनका लागि आवासीयरुपमा भर्ना भएका छन् । वार्षिकरुपमा एउटा कक्षा बढाउँदै लगिएको पूर्ण आवासीय जनजागृति माध्यमिक विद्यालयमा अहिले कक्षा–१२ सम्मको पढाइ सञ्चालन भइरहेको जनाइएको छ ।
नौँ वर्षदेखि शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति आवासीय माध्यमिक विद्यालय गत वर्ष कोशी प्रदेशका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट १४ विद्यालयको रुपमा सम्मानित भएको थियो । कोशी प्रदेशमा पर्ने १४ जिल्लाका एक÷एकवटा उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत जनजागृति आवासीय माविले रु १४ लाख ५० हजार नगदसहितको सम्मान प्राप्त गरेको हो ।
यस्तै, सार्वजनिक विद्यालयका उत्कृष्ट शिक्षकतर्फको ‘राष्ट्रिय शिक्षा पुरस्कार–२०८१’ खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सञ्चालित भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारका प्रधानाध्यापक कुमार पराजुलीले प्राप्त गर्नुभएको छ । माध्यमिक तह द्धितीय श्रेणीको सेवासुविधामा कार्यरत प्रधानाध्यापक पराजुलीलाई जिल्लाका उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।