खोटाङ - दशैं बिदा सकिए पनि पठन-पाठन सुचारु नगरेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विद्यालयलाई स्पष्टीकरण सोधेको छ । कात्तिक १२ गतेबाट विद्यालय सञ्चालन हुनुपर्नेमा हालसम्म विद्यालयमा पठन-पाठन सुचारु नभएपछि नगरपालिकाले स्पष्टीकरण सोधेको हो।
विद्यालय सञ्चालन भएको पहिलो दिन १२ गते अर्थात आइतबार नगरपालिकाको टोली अनुगमनमा पुग्दा विद्यालयमा पठन-पाठन नभएको पाइएको थियो। नगरपालिकाका नगर प्रमुख विमला राई, सामाजिक विकास शाखा संयोजक रुद्रकुमार राई लगायतको टोलि आइतबार विद्यालय अनुगमनमा पुगेको थियो।
आइतबार ३ वटा विद्यालयमा अनुगमन गर्दा विद्यालय नै बन्द रहेको भेटिएको सामाजिक विकास शाखा संयोजक रुद्रकुमार राईले बताए। वडा नम्बर १ बाहुनिडाँडास्थित मालिकादेवी माध्यमिक विद्यालय, दूधकोशी आधारभूत विद्यालय र वडा नम्बर ३ को च्यास्मिटार माध्यमिक विद्यालयमा अनुगमन गरिएको तर, तीन वटै विद्यालय ४ बज्नु अगाडी नै बन्द भइसकेका अवस्थामा भेटिएको उनले बताए।
समय अगावै बन्द भएका विद्यालयलाई नगरपालिकाको शिक्षा शाखाले सोमबार स्पष्टीकरण सोधेको शाखा संयोजक पदम बहादुर कार्कीले जानकारी दिए। कतीपय शिक्षकहरु बिदा सकिंदा पनि उपस्थित नभएकाले उपस्थित शिक्षकहरुको डाटा पठाउन नगरपालिकाका सबै विद्यालयलाई पत्रचारसमेत गरिएको उनको भनाई छ। विद्यालयलाई बिना जानकारी उपस्थित नभएका शिक्षकहरुको तलब कट्टा हुने उनले जनाए। विद्यालय समयसम्म विद्यालयमा पठनपाठन नहुनु गम्भीर लापारबाही भएको नगरप्रमुख राईले बताइन्।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न नगरपालिका लागिरहँदा समयसम्म विद्यालयमा पठनपाठन नहुनुले प्रश्न चिन्ह खडा गरेको उनको भनाई छ। ‘विद्यालयमा आवश्यक के छ? त्यो हामीले पुरा गर्ने प्रयत्न गरिरहेका छौँ, संरचना कमजोर भएका विद्यालयमा धमाधम नयाँ संरचना बनाउदै छौँ। आवश्यक अनुसार शिक्षक दरबन्दी मिलान गरेका छौँ, विद्यालयमा शुन्य शूल्क लागु गरेका छौँ।’ राईले भनिन्, ‘यसरी शिक्षालाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहँदा शिक्षकहरुले विद्यालय समयमा उपस्थित भएर पठनपाठन नगराउनु कतिसम्मको लापारबाही हो?’
टाढाका सबै शिक्षक उपस्थित नभएकाले विद्यालय सञ्चालन भएको पहिलो दिन आइतबार दिउँसो १ बजे विद्यालय बन्द गरिएको बहुनीडाँडास्थित मालिकादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु राईले बताए। ‘टाढाका शिक्षकहरु सबै आउनु भएन्, विद्यार्थीहरु पनि सबै आएका थिएनन्। त्यसैले उपस्थित शिक्षकहरुले पढाएर १ बजे विद्यालय बन्द गरिएको हो।’ प्रधानाध्यापक राईले भने सोमबारबाट ४ बजेसम्म नै विद्यालयमा पठनपाठन भएको हो।
तर अझै पनि एक जना शिक्षक उपस्थित नभएको उनले बताए। पालिकाको अनुगमन नगरेका अन्य विद्यालयमा पनि विद्यालय समयसम्म पठन-पाठन नभएको गुनासो अभिभावकहरुको छ। नगरपालिका भित्रका केही विद्यालयमा बुझ्दा सोही समस्या रहेको पाइएको छ। वडा नम्बर ११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालय पनि आइतबार दिउँसो १ बजे नै बन्द भएको प्रधानाध्यापक यबिन्द्र राईले बताए। शिक्षक र विद्यार्थी सबै उपस्थित नभएकाले ४ बजेसम्म पठनपाठन नभएको उनको भनाई छ।
दुई जना शिक्षक अझै उपस्थित नभएको तर उनीहरुले बिदा लिएको प्रधानाध्यापक राईले जनाए। वडा नम्बर १० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा भने आइतबारबाटै नियमित पठन-पाठन भएको प्रधानाध्यापक नविन चाम्लिङले बताए। पहिलो दिन विद्यार्थी संख्या न्यून भएपनि सोमबारबाट प्राय विद्यार्थी उपस्थित भएको उनको भनाई छ।
हलेसी तुवाचुङ नगरपालिकाको मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहका सामुदायिक विद्यालयको हालत पनि यस्तै रहेको छ।
दसैँ बिदा सकिएर विद्यालय सञ्चालन भएको दोस्रो दिनसम्म पनि नियमित पठनपाठन नभएको गुनासो ब्यापक छ । कतीपय पालिकाले तिहारसम्म नै विद्यालयमा बिदा दिएका छन्।