नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ।
उनको पशुपतिस्थित वैद्यखानामा आज विहान निधन भएको हो। उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ। पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए।
खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिकावडा नम्बर -९ सल्ले घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो। सुरुमा उनलाई उपचार गर्न त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा लगिएकोे थियो। तर, पशुपतिमा देहत्याग गर्ने पौडेलको इच्छाअनुसार नै पशुपतिस्थित वैद्यखानामा लगिएको थियो। ‘उहाँ शिवभक्त हुनुहुन्थ्यो।
पशुपतिनाथ मन्दिर परिक्रमा गराएर वैद्यखानामा राखेपछि उहाँले आज विहान अन्तिम सास लिनुभयो,’ पौडेलबारे जानकार कांग्रेस नेता चन्द्र भण्डारीले प्रभाव न्यूजलाई जानकारी दिए।
भण्डारीका अनुसार राष्ट्रियसभा सदस्य हुँदा सरकारले दिएको गाडीको सुविधा पौडेलले लिएका थिएनन्। ‘त्याग र निष्ठाको राजनीतिको उहाँ उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो,’ भण्डारीले भने, ‘गाडीको सुविधा नलिने उहाँ पनि एक सदस्य हुनुहुन्थ्यो।’
उनी नेपाली राजनीतिमा वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह एवम् कृष्णप्रसाद भट्टराईका अनुयायीसमेत हुनुहुन्थ्यो।