खोटाङ - जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकको तलब शिक्षककै बैंक खातामा जम्मा गरिदिन थालेको छ।
यसअघि विद्यालयको खातामा जम्मा गरिदै आएको शिक्षक र अन्य कर्मचारीको तलब सम्बन्धित व्यक्तिकै खातामा जम्मा गर्न थालिएको हो।
आर्थिक वर्ष २०८०/०८१ लाई शैक्षिक सुधार र पूर्वधार विकास वर्षकोरुपमा लिएको नगरपालिकाले विद्यालय र शिक्षकहरुको सहजताका लागि सम्बन्धित व्यक्तिकै खातामा तलब जम्मा गर्न सुरु गरेको नगरपालिकाका सामाजिक विकास समिति संयोजक रुद्रकुमार राईले जानकारी दिए।
नगरपालिका भरिका सबै शिक्षक तथा कर्मचारीको साउन, भदौ र असोज महिनाको तलब खातामा जम्मा गरिसकेको नले बताए। नगरपालिका भरिका ९० वटा सामुदायिक विद्यालयका ५०० शिक्षक तथा कर्मचारीको सिधै खातामा तलब पुगिसकेको नगर शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताए।
माध्यमिक शिक्षक ५० जना, निम्नमाध्यमिक शिक्षक ३९ जना, प्राथमिक शिक्षक २१२ जना, प्राविधिक शिक्षा प्रशिक्षक ९ जना, नगर शिक्षक १५ जना, शिक्षण सिकाइ अनुदान १७ जना, बालविकास सहजकर्ता ५६ जना, लेखा कर्मचारी १२ जना र कार्यालय सहयोगी ९० जना नगरपालिकामा कार्यरत रहेको शिक्षा शाखा संयोजक काकीको भनाई छ। हालसम्म शिक्षकहरुलाई ३÷३ महिनामा तलब दिने गरिएको थियो।
सम्बन्धित व्यक्तिकै खातामा जम्मा गर्न सुरु भएपछि अब प्रत्येक महिना शिक्षकलाई तलब प्रदान गरिने नगरपालिकाका लेखा शाखा प्रमुख भिम ढकालले बताए।
नगरपालिकाले सिधै शिक्षकको खातामा तलब प्रदान गर्न सुरुवात गर्दा केही कठिन भएको थियो। आगामि दिनमा कुनै समस्या नरहेकाले प्रत्येक महिना तलब खातामा जम्मा गरिदिने ढकलाको भनाइ छ। विद्यालयको खातामा जम्मा हुने रकम सम्बन्धित शिक्षकको खातामा जम्मा हुन थालेपछि प्रध्यानाध्यापकलाई तलब खुवाउने बोझ हटेको छ।। यस्तै, शिक्षकलाई सजिलो भएको छ। मासिकरुपमा तलब आउदा दैनिकीमा सहज हुने शिक्षकहरुको भनाइ छ।
नगरपालिकाको यो कदमले प्रधानाध्यापकलाई धेरै सहज हुने सरस्वती माध्यमिक विद्यालय अर्खौलेका प्रधानाध्यापक नविन चाम्लिङले बताए।
नगरपालिकाबाट शिक्षक तथा कर्मचारीको तलब तथा भत्ता निकासा गर्न, भरपाई तयार गरि बैंकमा पठाउन, संचयकोष, बिमा, सामाजिक सुरक्षा कर कट्टी गर्न र सो बापतको रकम बैंकमा जम्मा गर्नुपर्ने झण्जट हटेको प्रधानाध्यापक राईको भनाइ छ। यस्तै, तलब सम्बन्धित शिक्षकको खातामा जादा विद्यालयको लेखा परिक्षणमा पनि कम खर्च हुने उनले बताए।
यस अघि सबै विद्यालयको खातामा आउने र शिक्षकलाई पुनः विद्यालयले प्रदान गर्ने हुँदा विद्यालयको कारोबार धेरै हुन्थ्यो। जसकारण लेखा परीक्षणमा विद्यालयको धेरै रकम खर्च हुने गरेको राईको भनाइ छ ।
हलेसी तुवाचुङले जस्तै जिल्लाको ऐसेलुखर्क गाउँपालिकाले शिक्षकको सम्बन्धित खातामा तलब प्रदान गर्ने व्यवस्था गरिसकेको छ। यस्तै, रावा बेंसी गाउँपालिकाले पनि यहि महिनाबाट कार्यक्रम सुरुवात गरेको जनाएको छ।