काठमाडौं- नेकपा एमालेमा माधव कुमार नेपाल पक्षका अधिकांश सांसद पार्टी विभाजन हुनु नहुने पक्षमा देखिएका छन्।
बुधबार बिहान नेपाल पक्षका सांसदको बैठक बसेको थियो। बैठकमा सहभागी प्रायः सबैले नयाँ दल बनाउनेतिर नलागी एमालेभित्रै संघर्ष गरेमात्रै उपलब्धि हुने बताएका थिए।
सांसदको बैठकपछि स्थायी कमिटीका सदस्यको बैठक बसेको थियो। स्थायी कमिटी बैठकमा सांसदको बैठकबारे घनश्याम भुसाललगायतका नेताले ब्रिफिङ गरेका थिए। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मंगलबार नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए।
नेपाल पक्षीय सांसदलाई नयाँ दल गठन गर्न लागेको, पार्टीहित विपरित कार्य गरेको भन्दै दुई दिनभित्र स्पष्टिकरण बुझाउन उनले निर्देशन दिएका थिए। नेपाल पक्षले पनि समयभित्रै स्पष्टीकरण बुझाउन तर पार्टी विभाजन नगर्ने बताएका थिए । केही दिनअघि ओली पक्षका अधिकांश सांसदले पनि पार्टीलाई एक ढिक्का बनाएर नलगे आगामी निर्वाचन दुर्भाग्यपूर्ण हुने बताएका थिए।
माओवादी एक ढिक्का नै रहेको, एमालेमात्रै विभाजन हुन खोजेका कारण आगामी निर्वाचनमा एकाध नेताबाहेक अन्यले निर्वाचन जित्ने सम्भावना नरहेको बताउँदै पार्टी एकता कायम राख्न सुझाव दिएका थिए।
त्यसको जवाफमा ओलीले माधव नेपाल समूहका साथीहरूसँग कुराकानी भइरहेको र नेपालसँग पनि कुराकानी गर्ने तयारी भएको बताएका थिए। ओली पक्षका सांसदले नेपाल पक्षका नेताले जित्ने सम्भावना नभए पनि हराउनसक्ने प्रशस्त सम्भावना भएकाले पार्टी मिलाएरै जानुपर्ने सुझाव दिएका थिए।
त्यसअघि नेपाल पक्षका सोमप्रसाद पाण्डे र ओली पक्षका विष्णु पौडेलबीच कुराकानी भए पनि सकारात्मक बन्न सकेको थिएन । अर्थमन्त्रीसमेत रहेका पौडेल बुधबार दिउँसो होटल मेरियटमै थिए ।
ओली र नेपाल पुगेपछि उनी निस्केर हिँडेका थिए । ‘बजेटसम्बन्धी छलफल थियो । उहाँहरूको भेटवार्ता पनि रहेछ । म कार्यक्रम सिध्याएर निस्किएँ’, अर्थमन्त्री पौडेलले भनेको नागरिकले लेखेको छ।