खोटाङ - खोटाङका वैदेशिक रोजगारमा संलग्न परिवारमध्ये ७६ प्रतिशतले व्यवसायीक योजना बनाएर आयआर्जन सुरु गरेका छन्।
बालसेवा समाज नेपाल नेर्पाले सोमबार दिक्तेलमा आयोजना गरेको सुरक्षित आप्रवासन सम्वन्धी पत्रकारहरुसँगको अन्तरक्रीया कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी)ले आर्थिक वर्ष २०७६-०७७ र आर्थिक वर्ष २०७७-०७८ मा वित्तीय साक्षरता कक्षामा सहभागी भएका वैदेशिक रोजगारमा संलग्न परिवारमध्ये ७६ प्रतिशतले व्यवसायीक योजना बनाएर विभिन्न व्यवसाय अपनाएर आयआर्जन सुरु गरेको जानकारी दिइएको हो।
बालसेवा समाजको सभाहलमा आयोजित कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना(सामी)का कार्यक्रम संयोजक सन्तोष राईले वित्तीय साक्षरता कक्षामा सहभागीमध्ये ८७ प्रतिशले वित्तीय लक्ष्य तथा पारिवारिक बजेट बनाउने गरेको, ९७ प्रतिशतले आम्दानी र खर्चको हिसाव राख्न थालेको र ९१ प्रतिशतले बचत वृद्धि गरेको जानकारी दिएका छन्।
वित्तीय साक्षरता कक्षाकै सिकाइका कारण ९२ प्रतिशत (३५७ जना)ले विदेशमा रहेका आफन्तबाट महत्वपूर्ण कागजातको फोटोकपी घरमा मगाएको सामीले जनाएको छ।
वैदेशिक रोजगार सम्वन्धी आवश्यक सूचना तथा परामर्श सेवा पाएका १ हजार ४८८ जनामध्ये १२ प्रतिशत विदेश गएको, त्यसमध्ये ५३ प्रतिशतले सीप सिकेर विदेश गएको, ८७ प्रतिशतले परिवारमा कागजपत्र छाडेको र ३६ प्रतिशतले आफुले एजेण्टलाई पैसा तिरे बराबरको भर्पाई लिएको पाइएको कार्यक्रम संयोजक राईले जानकारी दिए।
यस्तै, आर्थिक वर्ष २०७६-०७७ र आर्थिक वर्ष २०७७-०७८ मा वैदेशिक रोजगारको सिलसिलामा भएका ठगी, खोजी, उद्धार जेल, मृत्युदावी भुक्तानी तथा अंगभंग लगायतका ५८ वटा केश आएकामध्ये २९ वटा सफल भएको, २२ वटा प्रकृयामा रहेको र ७ वटा असफल भएको परियोजनाले जनाएको छ।
पछिल्लो समय वैदेसिक रोजगारीका क्रममा ठगीका नयाँ-नयाँ शैली अपनाइएको पाइएको सामीका जिल्ला कार्यक्रम अधिकृत उमा पौडेलले बताईन्।
कार्यक्रम बाल सेवा समाजका अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको प्रमुख आतिथ्यता एवं उपमेयर बिणादेबी राईको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
नेपाल सरकार र स्वीस सरकार वीच भएको सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाजद्धारा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपीलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित र उपलव्धीमुलक बनाउने लक्ष्यका साथ परियोजनाले सूचना तथा परामर्श सेवा, निःशूल्क सिप तथा तालिम, निःशूल्क कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तिय साक्षरता कक्षा सञ्चालन, सामाजिक परिचालन लगायतका काम गर्दै आएको छ।