खोटाङ फुटवल एकेडेमीले ‘दोश्रो जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ। ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथमा प्रतियोगिता गर्न लागेको हो ।
एकेडेमीको कार्यालय माटिकोरेमा बिहीबार पत्रकार सम्मेलनमार्फत ४ चैतवाट प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको छ। प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिमा क्लव दर्ता भएको, क्लवको प्रमाण पत्र, वार्षिक नविकरणको प्रमाणपत्र भएको सहित जिल्लाको आधिकारीक क्लवहरु गरी १६ टिमलाई सहभागी गराईनेछ ।
पहिले आउने क्लवलाई प्राथमिकता दिईने र १६ टिम पश्चात जिल्लाको आधिकारीक क्लव भए पनि सहभागी गराउन नसकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्रतियोगितामा दुई जना गोल रक्षकसहित १४ जना खेलाडी, टिम मेनेजर र प्रशिक्षक गरी १६ जना हुनुपर्नेछ।
प्रतियोगितामा सहभागिताका लागि १ चैतभित्र टिम दर्ता गर्नुपर्नेछ। प्रतियोगितामा प्रथम हुने टिमले ८८ हजार ८८८, दोश्रो टिमले ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई टिमले प्रति टिम २२ हजार २२२ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता, कोचलाई जनही पाँच हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
सर्वोत्कृष्ट खेलाडीलाई सात हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाणपत्र र म्यान अफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए। प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ ‐एन्फा) अध्यक्ष कर्माछिरीङ शेर्पाको प्रमुख आतिथ्य र एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंसहित केन्द्रीय पदाधिकारीहरुको उपस्थितीमा हुनेछ।
उद्घाटन सत्रका दिन जिल्लामा क्रियाशिल पत्रकार र केएफए भेट्रोन ‐वुढ्यौली) टिमविच मैत्रीपूर्ण प्रतियोगिता हुने आयोजकले जनाएको छ। यस्तै, प्रतियोगिता उद्घाटनका दिन एकेडेमीको आफ्नै गीत सार्वजनिक गरिने र फुटसल सेन्टरलाई निःशुल्क जग्गादानको कार्यक्रम पनि तय भएको छ।
प्रतियोगिताको सेमिफाइनलिस्ट एक टिमको पुरस्कार नेपाली सेनावाट अवकासप्राप्त दिक्तेलका जमदार गोपाल श्रेष्ठ, विधागत पुरस्कार खोटाङका कोकाकोला डिष्ट्रीव्युटर टेक बहादुर मुग्राती, म्यान अफ द म्याच पुरस्कार र मेडलको गौरी नुडल्सका प्रोपाईटर अमृत वुढाथोकीले प्रायोजन गरिदिएको छ।
खेलकुदको अभियान खोटाङको पहिचान भन्ने नाराका साथमा २०७३ सालमा स्थापना भएको एकेडेमीले गतवर्षदेखी जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगिता गराउदै आएको छ । पहिलो संस्करणमा आयोजक नै प्रथम भएको थियो।