काठमाडौं - आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत सिफारिस हुन सकेनन्।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि पौडेलसहित ३ जनाको नाम पार्टीले सिफारिस गरेको छ।
कांग्रेस तनहुँले पौडेलसहित केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराईको नाम पनि सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई जिल्लामा आएको नामावली केन्द्रमा सिफारिस गरिएको पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए।
खनालका अनुसार समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का वि.कको नाम सिफारिस गरिएको छ।
प्रधानमन्त्रीको दौडमा रहेका वरिष्ठ नेता पौडेल गृहजिल्लामै सर्वसम्मत उम्मेदवार सिफारिस हुन नसक्दा उनको राजनीतिक भविष्यका विषयमा चर्चा चल्न थालेका छन्।
पौडेल भने ’अबको प्रधानमन्त्री म नै हो’ भन्दै गृह जिल्लामा सक्रिया देखिन्छन्।
विशेषगरी जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय उनको दौडधुप बढी देखिएको छ।
राप्रपा अध्यक्ष लिङ्देनले दिए राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्। राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यको कार्यकाल मंसिर ४ गतेपछिका लागि पनि राख्ने तयारी हुँदा आफू दुःखी भएकाले राजीनामा दिनुपर्ने लागेको बताए।
उनले भने, ’भत्ता पकाउनका लागि मात्रै संसद् आइँदैन भनेर आउन छोडेको थिएँ। संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने भन्ने निर्णय प्रक्रियामा आएको छ,’ उनले भने, ’त्यसले लज्जित र दुःखित तुल्यायो। अब सांसद छैन भनेर बाटो बाटो भन्दै हिँड्नु उपयुक्त हुँदैन भन्ने लागेर संसद्मा उपस्थित भएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर यो घोषणा गर्दछु अब म उपस्थित हुने छैन।’
निर्वाचन घोषणा भएपछि पनि संसद् चल्नु राम्रो नभएको लिङ्देनको भनाइ थियो। उनले सरकार पनि चुनावी रूपमा बनाउनुपर्ने उनको धारणा थियो। लिङ्देन २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तय भएको छ। उनले अब प्रतिनिधिसभा निर्वाचनमा पार्टी काममा लाग्ने बताए।