नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।
बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले जानकारी दिए।
दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने जनाईएको छ। १३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०७६ साल फागुनमा समाप्त भएको थियो।
विधानमा भएको व्यवस्था अनुसार एक वर्ष कार्यकाल थपिएको थियो। थपिएको कार्यकाल फागुन २० गते सकिँदैछ। त्यसपछि पनि कांग्रेसले संवैधानिक सुविधा अनुसार ६ महिना अवधि थप्न सक्छ ।
त्यो भनेको कांग्रेसको आयु २०७८ भदौसम्म कायम रहन्छ। भदौमा पनि महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता सकिन्छ। यसैबीच संसद विघटनको विरोधमा कांग्रेसले पनि ठूला सभा गरेर विरोधसभा गर्ने तयारी गरेको छ।