अदालत भित्रै अधिृकत र फाँटवालबीच मुक्का हानाहान भएको छ। काठमाडौँ जिल्ला अदालतमा इजलासमै अधिकृत र फाँटका कर्मचारीबीच सोमवार कुटाकुट भएको छ। न्यायाधीशकै सामुन्ने भएका मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते हुनुभएको छ।
१४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो। सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुई जनाबीच झगडा भएको हो ।
झगडाले केही समय अन्य इजलास पनि प्रभावित भएका थिए। घटना बिवरणअनुसार नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएको थियो। यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच हात हालाहाल भएको अदालत स्रोतले जानकारी दियो।
अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले घटना भएको बताउँदै अनुसन्धान भइरहेको बताउनुभयो। ‘घटना भएको छ । दुबैको दाबी पहिले अर्कैले आक्रमण गरेका भनेका छन् ।
सुब्बा सापको हकमा इजलासले घटना विवरण माग गरेको छ। उहाँले पनि छानबिन गरिपाउँ भनेर निवेदन दिनुभएको छ,’ निरौलाले भन्नुभयो, ‘हामी अनुसन्धानका क्रममा छौँ । अनुसन्धान अनुसार दोषीलाई कारबाही हुन्छ।’ निरौलाका अनुसार दुईबीच यसअघि भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने विवाद प्रारम्भिक रुपमा देखिएको छ । मालपोतलाई भएको उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राख्नुभएको थियो ।
नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राख्नुभएको थियो । सोही विषयलाई लिएर दुईबीच हात हालाहालको अवस्था सिर्जना भएको हो । सो घटनामा घाइते शर्माको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।