काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै देशमा पछिल्लो समय राजनीतिमा अस्तिरता पैदा भएको छ।
बहुमत प्राप्त गरेको नेकपा पछिल्लो समय दुई समूहमा विभाजन भएको छ। एउटा ओली समूह त अर्को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकमार नेपाल समूह।
यतिबेला नेकपाको आधिकारिकता र चुनाव चिन्ह कसले पाउने भन्नेमा विवाद कायमै छ। नेकपाको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफूहरुले पाउनु पर्ने दाबीसहित प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा पत्र बुझाएको छ। यही बेला ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेका छन्।
मंगलबार आयोग पुगेका प्रधानमन्त्री ओलीले चुनावको तयारीबारे जानकारी लिँदै नेकपाको आधिकारिकता र चुनाव चिन्हमाथि आफ्नो दाबी मौखिक रुपमा प्रस्तुत गरेका छन्। उपप्रधामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विष्णु पौडेल तथा सुवास नेम्वाङलाई साथ लिएर आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त दिनेश थपलियासहित अन्य आयुक्तहरुसँग छलफल गरेका हुन्। सो क्रममा उनले निर्धारित मितिमा चुनाव गर्ने गरी तयारी अगाडि बढाउन निर्देशन दिए।
चुनावको तयारीलाई अगाडि बढाउन निर्देशन दिँदै नेकपाको आधिकारिकता र चुनाव चिन्हबारे पनि प्रधानमन्त्री ओलीले आफ्नो दाबी पेश गरेका छन्। आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफ्नो समूहले पाउनु पर्ने दलील पेस गरेका हुन्।
प्रचण्ड-नेपाल समूहका पुष्पकमल दाहाल प्रचण्डले हालसम्म सूर्य चिन्हमा चुनाव नलडेको र माधवकुमार नेपालले हँसिया र मकैको घोगा चुनाव चिह्न दर्ता गराएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सूर्य चिन्हमा उनीहरुको हक नलाग्ने दाबी गरे।
हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेको र २०७४ असोज १४ गते भएको सूर्य चिन्हमा चुनाव लड्ने सहमतिबाट १६ गते नै प्रचण्ड पछि हटेको जानकारी गराउँदै ओलीले सूर्य चिन्हमा प्रचण्डको दाबी नरहने बताए।
माधवकुमार नेपाल र बलराम उपाध्यायले पहिले नै हँसिया र मकैको घोगा चुनाव चिह्न दर्ता गराएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सूर्य चिन्ह आफूहरुले कायम गर्दै सोही चिन्हबाट चुनाव लड्दै आएको जानकारी गराए।