बिराटनगर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रधानमन्त्री निकटका सांसदले अवरोध गरेपछि प्रदेश १ को प्रदेश सभा बैठक स्थगित भएको छ ।
सत्तापक्षकै सांसदहरूले प्रदेश १ को बैठक रोकेपछि कांग्रेस जिल परेको छ। प्रदेश १ मा ओली समूहकै मुख्यमन्त्री शेरधन राई छन्। मुख्यमन्त्री राईकै सांसदहरूले संसद अवरोध गरेपछि कांग्रेस जिल खाएको हो।
आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । बैठक ४ बजेतिर शुरू भएको थियो। ओली ओली समूहका सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रचण्ड-माधव समूहका १६ सांसदलाई निकाल्न भनेर बैठक अवरुद्ध गरेका थिए।
सभामुख प्रदीपकुमार भण्डारीले बैठक सुरु गरेलगत्तै ओली पक्षका सांसद बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरुद्ध लागेका १६ सांसदलाई सभाबाट ननिकालेसम्म बैठक चल्न नसक्ने चेतावनी दिएका थिए।
दलको नेता मुख्यमन्त्री राई भएको अवस्थामा आफ्नै दलका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेकाले सभाबाट निकालेर बैठक चलाउन आग्रह गरेका छन्। राजभण्डारी बोले लगत्तै प्रचण्ड-माधव समूहका सांसदले अविश्वास प्रस्ताव टेबुल हुनुपर्ने माग राखेका छन्।
विवादका बीच ओली समूहका सांसदले सभा चल्न नदिएपछि आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जनाइएको छ। प्रदेश १ मा नेकपाभित्रको विवादले सत्ता पक्षकै सांसदहरूले रमिता देखाएका छन्।
पार्टीभित्रको विवाद संसदमा छिरेपछि कांग्रेसका सांसदहरू चकित परेका छन्।