• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


गृहजिल्लामै झलनाथ र सुभास पत्तासाफ, अस्तित्व जोगाउनै पर्ने भो हम्मे

गृहजिल्लामै झलनाथ र सुभास पत्तासाफ, अस्तित्व जोगाउनै पर्ने भो हम्मे

images

प्रभाव न्यूज

२६ माघ २०७७
  • 25.7K
    SHARES
  • images
    गृहजिल्लामै झलनाथ र सुभास पत्तासाफ, अस्तित्व जोगाउनै पर्ने भो हम्मे
    images
    images
    images

    झापा विद्रोहबाट राजनीतिक उचाइ लिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुभासचन्द्र नेम्बाङ कुनै समय सहयात्री थिए।

    images

    एजेन्डा र मोर्चा एउटै थियो। त्यतिमात्र होइन इलाम आदर्श स्कुलमा सँगै पढेका दौंतरी थिए। उनीहरु राजनीतिक प्रतिस्पर्धी भन्दा पनि एक आपसका सहयोगी थिए।

    अहिले पनि संगठन विस्तार र सामाजिक विकासमा उनीहरुको योगदानको उच्च कदर हुनेगर्छ । सुभासको तुलनामा झलनाथले राजनीतिक रुपमा धेरै सफलता हासिल गरे। एक दशक नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व मात्र सम्हालेनन् नेपालको ३५ औं प्रधानमन्त्रीको कुर्सी पनि सम्हाले।

    सुभास भावी प्रधानमन्त्रीका उम्मेदवार मात्र हुन्। तर ऐतिहासिक संविधान सभाको सभामुख बनेर नेपालको राजनीतिक इतिहासमा आफ्नो नाम स्वर्णीम अक्षरमा लेखाए। इलामका दुईवटा क्षेत्रबाट पटक पटक सांसदको माला लगाएका झलनाथ पछिल्लो समय नेकपा एकढिक्का हुँदा पनि एउटै कित्तामा उभिन नसकेका यी दुई राजनीतिक हस्ती यतिबेला झनै छिन्नभिन्न अवस्थामा पुगेका छन्।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्रका रुपमा सुभासले जिम्मेवारी सम्हालेका छन् भने झलनाथ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको एक हिस्सेदार बनेर मोर्चा सम्हालिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई ध्रुवमा विभाजित यी दुई नेता गृहजिल्लामा आफ्नो अस्तित्व रक्षामा जुटेका छन्। विरलै मात्र गृहजिल्ला पाइला टेक्दै आएका यी दुई नेता यतिबेला जिल्लामा आफ्नो समूहलाई बलियो बनाउने अभियानमा छन्।

    images

    त्यतिमात्र होइन सुभास र झलनाथलाई आफ्नो शाख जोगाउँदै अस्तित्व बचाउन नै सकस परिरहेको छ । नेकपा इलामका एक पाका कार्यकर्ता भन्छन्,‘सुभास र झलनाथ अब इलामको इतिहास मात्र बन्नेछन्, अस्तित्व सिध्याइसके, फेरि चुनाव लडेभने त्यो रहर मात्र हुनेछ।’ केन्द्रिय स्तरका नेताहरु विभाजित बनेपछि त्यसको असर गाउँ गाउँसम्म मात्र पुगेको छैन, कार्यकर्तामा निराशा पनि पैदा भएको छ।

    कार्यकर्ताको मनोबल बढाउन झलनाथ आफ्नै जिल्लामा सक्रिय हुन थालेका छन् भने नेम्बाङले पनि आफ्ना जिल्लास्तरका नेतालाई परिचालन गरिसकेका छन् । यद्यपी, गृहजिल्लामा झलनाथ र सुभासले आफ्नो पूरानो शाख र गरिमा कायम राख्नसक्ने अवस्था भने गुम्दै गइरहेको छ।

    हुनत झलनाथको समूह भन्दा सुभास आवद्ध ओली समूह इलाममा बलियो देखिन्छ। झलनाथकै नेता तथा कार्यकर्ताहरुलाई सुभासले चोरेर आफ्नामा भित्र्याउँदै लगेका छन्। त्यसको काउन्टर दिन झलनाथको समूह त्यति मजबूद देखिएको छैन्। पूर्व माओवादी केन्द्र भन्दा पूर्व एमाले इलाममा बलियो मानिने भएपनि झलनाथ प्रचण्डको कित्तामा उभिनुलाई कतिपय अगुवा कार्यकर्ताले दुर्भाग्यपूर्ण मानेका छन्।

    जसको असर प्रत्यक्ष रुपमा झलनाथलाई परेको छ । उनका सारथीहरुले धमाधम साथ छाड्न थालेका छन्। नेपालको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार हटाइएको सार्वजनिक अभिब्यक्ति दिए पनि ओलीको बचाउमा उत्रिएर बदनाम बनेका सुभासको शाख पनि पहिलेजस्तो छैन्। इमान्दारिता र शालीनतालाई दाउमा राखेर उनले ओलीको कदमलाई साथ दिएका कारण सुभासको साथ छाड्ने कार्यकर्ताको संख्या पनि उत्तिकै छ।

    हुनत प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारवटै क्षेत्र नेकपाको एकलौटी छ। यसैगरी १० वटा स्थानीय तहहरुमध्ये सबै चार वटा नगरपालिकाको प्रमुख उपप्रमुख र छ वटा गाउँपालिका मध्ये तीनमा अध्यक्ष र पाँचमा उपाध्यक्ष नेकपाले जितेको छ । उपाध्यक्ष जितेको गाउँपालिकामा पनि नेकपाकै स्पष्ट बहुमत छ।

    प्रदेशमा निर्वाचितहरुमध्ये धिरेन्द्र शर्मा रमण मात्रै साविकको माओवादी केन्द्रबाट निर्वाचित हुन्। जिल्ला समन्वय समितिमा सबै साविक एमालेका जनप्रतिनिधिहरुले जितेका छन् । वास्तवमा पूर्व माओवादी केन्द्र इलाममा कमजोर छ । जसको समूहलाई झलनाथले नेतृत्व गर्नु राजनीतिक यात्रा ओरालो लागे सरह मानिन्छ।

    images
    images

    प्रकाशित :माघ २६, २०७७ सोमवार - १७:२४:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij